काठमाडौं, ७ चैत । नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समितिका संयोजक विष्णुपुकार श्रेष्ठले सो प्रतिवेदन संयोजक दाहाललाई बुझाउनुभएको हो । सो अवसरमा पार्टीका संयोजक दाहालले बुद्धिजीवी एवं पेसाकर्मीको सुझाव कार्यान्वयनगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले निर्वाचन अगाडि र पछाडिका राजनीतिक परिस्थितिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । उहाँले पार्टीलाई अब विचाराधारात्मक हिसाबले धारिलो बनाउँदै संगठनलाई व्यवस्थित गरेर जनसरोकारका सवालमा परिचालनगर्न बुद्धिजीवीहरुबाट प्राप्त समीक्षा तथा सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

संयोजक दाहालले प्रतिवेदनलाई अध्ययनगरी पार्टीले जनसंघर्षलाई आधारभूत तहबाट अगाडि बढाउने बताउनुभयो । बिभिन्न १५ वटा घटक बुद्धिजीवी एवं पेसाकर्मीलाई समेटेर गठन गरिएको समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघ, इन्जिनियरिङ एशोसिएसन, कानून व्यवसायी संगठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु समावेश गरिएको थियो ।