
लोकनारायण सुवेदी
गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचन पूर्बको राष्ट्रिय अन्तर्राष्ट्रिय परिप्रेक्ष, निर्वाचनगर्ने घोषणापछिको सन्देहास्पद परिस्थिति र निर्वाचनको अप्रत्याशितजस्तो लाग्ने परिणाम तिनै सन्दर्भमा नेपाली समाजमा यतिबेला बिभिन्न प्रश्नहरु उठेका छन् र लामो समयसम्म उठ्दै रहने देखिएका छन् । त्यसैले नेपालको यो चुनावको बारेमा बिभिन्न किसिमले ब्याख्या र बिश्लेषण हुनुलाई यतिबेला अन्यथा नमानेर स्वभाबिक मानिएको छ । यो निर्वाचनका बारेमा हिन्द–पश्चिमा शक्तिहरुले अपूर्ब चासो लिएको र एउटा भाष्य बनाएर नेपाल यो चुनावदेखि नेपाल तथाकथित ‘बादको बोझ’बाट धेरै मात्रामा मुक्त भएकोभनेर निकै जोरस्वरले यो कुरा उराली रहेका छन् । मानौकि यसअघिका चुनावहरु बिशेष बिचारनिष्ठ, सिद्धान्तनिष्ठ र त्यसप्रति बडो समर्पित र प्रतिबद्ध हुने गरेका थिए । अर्थात समस्या नै सिद्धान्तनिष्ठ हुुनुमा थियो भन्ने उनीहरुको यो निष्कर्शको अन्त्यर्य बन्न जान्छ । १९९० मा लेनिनको नेतृत्वमा १९१७ मा स्थापित समाजवादी सोभियत संघको बिघटनपछि फुकुयामाहरुले सिद्धान्तको अन्त्य भयो, इतिहासको अन्त्य भयो अब सबै कुरा बजारमा आधारित भएर चल्नेछभन्ने जुन भाष्य निर्माण गरेका थिए त्यसको नबीन संस्करणलाई दोहोर्याउदै अहिले नेपालको चुनाव भएको औंल्याइदैछ । नेपाल कम्युनिष्ट, मुस्लिम र आतंकवादी राजनीतिक प्रबित्तिको चरणबाट नेपाल मुक्त भएको तथाकथित आधुनिक निष्कर्श लोकतन्त्रको दुहाई दिने बिचलनकारीहरुबाटै निकालिदैछ । अहिलेको नेपालको निर्वाचनमा ज–जसको हार भयो अर्थात सत्तामा हिजो पालैपालो खाइखेली गरेकाहरु, भ्रष्टाचारमा चुर्लम्म डुबेकाहरुको जुन ठूलो पराजयभयो त्यसलाई यसरी अथ्र्याउन खोजिएको छ । अनि अर्को कुरा यो चुनावलाई लिएर तथाकथित चिनीयाँ हस्तक्षेपलाई यस चुनावले नकारेकोभन्ने पनि निहीत स्वार्थबश एउटा अनर्थकारी अर्थ पनि लगाइएको छ । पश्चिमा शक्तिलाई माथगर्ने हिसाबले चीन आफ्नो सुदृढ अर्थ–राजनीतिक कदमकासाथ बिश्वको पहिलो शक्ति बन्न गइरहेको सन्दर्भमा चीन र भारतको बीचको रणनैतिक स्थलमा र बुद्धि पु¥याउन सके भबिष्यको एउटा महत्वपूर्ण शक्ति बन्न सक्ने अबस्थितिमा रहेको हिसावलेपनि नेपाललाई यसपटक हेरिदैछ ।
हुन त यो चुनाबलाई सर्सरी हेर्दा एउटा ठूलो र प्राय अप्रत्याशित जस्तो लाग्ने जनादेशपछि कामनपाका पूर्ब मेयर बालेन्द्र साहलाई उनी भर्खर प्रबेश गराइएको पार्टी रास्वपाले तत्कालै त्यस्तो ठूलो चूनौतिको सामना गर्नुपर्ने त देखिदैन भन्ने सामान्य प्राथमिक निष्कर्श पनि निकालिदैछ । तर यससँगसँगै बालेनले फिर्ता हुनसक्ने घटना घट्न पनि समय नलाग्न सक्ने अनुमान समेत समानान्तररुपमा यससँगसँगै गरिदैछ । जस्तो किसिमले पुराना राजनीतिक दलहरुलाई बर्तमान जनमतले नराम्रोसँग छोडेको देखिएको छ त्यस्तै किसिमको परिबर्तन एउटा अर्को मामिलामा पनि देखिएको छ । भनिदैछ कि केपी ओली र उनको पार्टी एमालेको पराजय उनको अवसरवादी राजनीतिसँगसँगै नेपालको राजनीतिमा चिनीयाँ कूटनीतिलाई नकार्नु पनि होभन्ने अर्थकासाथ पनि बिश्लेषण गरिदैछ । सम्पन्न निर्वाचन र यसको परिणामको ब्याख्या यसरी अनेक किसिमले गरिनु अहिलेको बिश्व र नेपालको समेत बस्तुस्थितिमा स्वभाबिकै पनि हुन सक्छ । तर चुनाव पक्रियाको क्रममा यस चुनावका बेला जे जस्ता प्रबृत्तिहरु दखापरे त्यसको चर्चा भने निकै कमै भएको छ । त्यो के भने चुनाव घोषणा भए लगत्तै पछि देखि हरेक ठूला मानिएका दलहरुमा टुटफुट, गठजोड र बिलयको स्थिति पनि देखियो । कतिपय दलहरुले त आफ्ना पहिलेका आफ्ना ‘आराध्य’मानिने गरेकाहरुको नाम लिनु पनि पाप सम्झिन थाले । नेपाली काँग्रसले नेपालको भदौ २३–२४ को जेन जी आन्दोलन र मूख्य शक्ति बन्नथालेको देखिएको रास्वपा स्थिति हेरेर नयाँ नेता चुनेको पनि देखियो । यी सबै कुरा गर्दा पनि ती पुराना पार्टीहरुको स्थिति भने मूलतः यो चुनावले हात खुट्टा फालेर चित परेकै झैं देखियो । हरेक जसो दलहरुले यूवाहरुलाई अघि बढाउने प्रयत्न शुरुगरेको पनि देखियो । यद्यपि अहिलेसम्म स्थापित पुरानो नेतृत्व परिणाम आउनु पूर्ब नै मैदान छोडेरै जान खोजेको थिए भन्नु गलत हुनेछ । यद्यपि जस्तोकिसिमको समानुपातिक प्रणाली यहाँ लागु गरिएको छ त्यसले २७५ सीटको संसदमा ११० को पूर्ति गर्दछ । जसको नमांकन सूचि चुनाव पूर्बनै बुझाइसकेको हुनु पर्ने नियम छ । तर समानुपातिकको जुन उदेश्य थियो मृत प्राय छ । यसका उम्मेदबारहरुहको छनौट जातिय सामुदायिक क्षेत्रको योग्यता, क्षमता, सीप, बिज्ञताजस्ता गुणले सुसज्जित हुनुपर्नेमा त्यसलाई पैसा अशुलीको ठूलो आधार जस्तो बनाएर प्रस्तुत गर्ने अभ्यास गरेर यसको गरीमा र गौरबलाई पनि गिराइयो र पूँजीको प्रतिस्पद्र्धाको माल बनाएर प्रस्तुत गर्ने गरियो । राजनीतिमा बिकृति र बिसंगति बढ्नुको एउटा मूल कारण यो पनि भएको धेरैले औंल्यारहेका पनि छन् । अर्कोतिर यस पटकको नाटकीय र चमत्कारिक लाग्ने चुनाव परिणामले नयाँ र पुराना भन्ने जुन एउटा बिभाजन रेखा कोर्न त्यो के के न हो भन्न खोजियो त्यसमा अनुहार बाहेक कुनै तात्विक अन्तर्यभने केही छैन । देश र जनताका जल्दाबल्दा समस्या अर्थात् राष्ट्रियता, जनजीकिका र जनतन्त्रका समस्या हलगर्ने आमूल परिबर्तनकारी प्रणाली, परिपाटी र प्रबृत्ति तथा बिचार, सिद्धान्त, नीति र निष्ठाको कुरा नगरी सतही रंगरोगन(डेन्टिङ्गपेण्टिङ्ग)को कृत्रिम लोकप्रियत कुराले जनतालाई क्षणिक भ्रम दिने र अल्मल्याउनेसम्मको काम त गर्ला नत्र यो ‘कालो गयो गोरो आयो, आफै आफै खायो’ जस्तो उपमामा परिणत हुने कुरा एक दुइ अपवाद बाहेक प्राय निश्चित छ ।
हिजो जतिबेला ६० प्रतिशतभन्दा बढी मतलाई कम्युनिष्ट मत भनेर दाबी गरिन्थ्यो त्यो ‘फ्लोटिङ्ग’ अर्थात जतिबेला जतापनि जानसक्ने मत रहेछभन्ने कुरा अहिलेको चुनाबी स्थितिले प्रष्ट पारिदिएको छ । यही कुरा नेपाली काँग्रेस, राजावादी र मधेशी दलमा पनि लागु हुन्छ । त्यसैले यस चुनावलाई मूलतः दक्षिणपन्थी र यथास्थितिवादी प्रबृत्तिका एक वा अर्को शक्तिहरुको ‘म्यूजिकल चेयर’को खेलभन्दा कुनै अत्युक्ति नहोला । मधेश, पहाड, हिमाल जुनसुकै क्षेत्र र समुदायको कुरा गरेपनि मूलतः यही प्रबृत्ति हाबी भएको छ । यसले जनचेतना कसरी प्रभावित भइरहेको यथार्थलाई निकैहदसम्म उजागर गरिदिएको छ । चुनाव पूर्बको स्थिति र त्यसको दौरानमा तथा चुनावको परिणामपछि पनि जुन पश्चिमा शक्तिको पहिला कहिल्यैभन्दा बढी चहल–पहल र गतिबिधि बढेको र खुशी प्रकट गरेको समेत देखिदै आयो त्यसले पनि यस निर्वाचनको कस्तो अर्थ लागेको छ र लाग्नेछभन्ने कुरा आगामी दिनमा अझ थप प्रष्ट हुँदै जाने नै छ । नेपालको रणनीतिक अबस्थितिका कारणले बिश्व शक्ति राष्ट्रको बर्चश्वको खेलमा प्रत्यक्ष परोक्षरुपमा परेको यो चुनावले नेपालको सार्बभौमिक अखण्डता, राष्ट्रियता र जनतन्त्रबको रक्षा, नागरिक स्वतन्त्रता तथा जन जीबिकाका समस्या जुन बिकरालरुपमा बिद्यमान छन् तिनको समाधान गर्ने कुनै आधार प्रदान गर्दैन र गर्न पाउँदैन । किनभने यसले बिद्यमान उत्पादन सम्बन्ध, सामाजिक तथा साँस्कृतिक संरचनामा कुनै फेरबदल गर्नुपर्ने आबश्यकता, उत्सुकता, चासो र चिन्ता केही लिनकसकेको देखिदैन र सक्दैन र लिदैन भन्ने कुरा बिगतको अनुभवले प्रष्ट पारेको छ ।
कर्पोरेट संस्थाका सम्झौता पत्र जस्ता चकाचौध देखाइएका बाचापत्रहरुको तिरीमिरीले नेपाली समाजका आम जनताका समस्या हलगर्ने दिशा र गति लिएछ भने त्यसलाई चमतकार मान्नै पर्ला नेपाली समाजमा असान्दर्भिकतलाई अँगाली राख्ने आजसम्मको अबाञ्छित स्थितिमा नेपाली जनताले ‘तावाबाट उम्केर भुंग्रोमा’पर्ने नियतिकै चौघेरमा परेर फेरि पनि निस्सासिने र संघर्ष गर्नुपर्ने बिकल्पबाहेक अरु कुनै बाटो छैन । यथास्थितिलाई पक्ष पोषण गर्ने र टिकाइराख्ने अर्थ–राजनीति, सामाजिक सँस्कृतिलाई समग्ररुपमा अग्रगाी परिबर्तन गर्ने दृढ अठोट, संकल्प र तदनुरुपको कार्यक्रम, कार्यनीति र प्रभावकारी कार्यान्वय बिना नयाँ हुनुको कुनै अर्थ रहँदैन । पुरानै गलत शोषण र उत्पीडनकारी अर्थ–सामाजिक तथा राजनीतिक परिपाटीलाई काखी च्यापेर नयाँ कुरा गर्न सकिने कसैले सोचेको छभने त्यो ठूलो भ्रम हो । अहिलेसम्मको इतिहासले दिएको शिक्षा र अनुभव पनि यही नै हो । यथास्थिति भित्रको कुनै किसिमको एकता, गठबन्धन या मोर्चाले पनि कुनै काम गर्दैन । यस कटु यथार्थलाई आत्मसात गरेर जनता र राष्ट्रको हित अर्थात नेपाल र नेपाली जनताको राष्ट्रिय सार्बभौमिकताको रक्षा, जनतन्त्रको सार्थक सुदिृढीकरण तथा जनजीबिकका गम्भीर समस्याहरुको समाधानको सही जनपक्षीय बाटो पक्रिन सकेमामात्र परिवर्तनको अर्थ हुन्छ । हाम्रो परराष्ट्र नीतिको सार्थकता पनि यसैमा निहीत छ । अन्यथा जनता सधै जिल्लाराम र राष्ट्र सधै कमजोर अबस्थाबाट गुज्रिने अनि परनिर्भर बरिहने र अस्तित्व नै संकटमा पर्ने नियति मात्र फेरि पनि निम्तिने देखिएको छ । यो सबैले बुझ्नु र बिचार गर्नुपर्ने कुरा भएको छ ( टिप्पणीकार ः नेकपाका संयोजक हुनुहुन्छ । )