काठमाडौं,२२ वैशाख । बर्तमान सरकार पनि प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण प्रतिबद्ध रहेको खुलाशा भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले एक प्रेस नोट जारीगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र सञ्चारकर्मीलाई भिडियो खिच्न रोकलगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालद्वारा जारी प्रेस नोटमा सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ । सञ्चारकर्मीलाई सूचना संकलनका लागि अनुमति भएको र त्यहाँ कुनै अवरोध नभएको उल्लेखगर्दै भविष्यमा नहुने भनिएको छ । प्रेस विज्ञ दाहालले सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको उल्लेख गर्नुभएको छ ।

सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अंकुशकारुपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ । सचिवालयकाअनुसार प्रधानमन्त्री कार्यालय प्रवेशकाक्रममा हिजो परिसरमा सवारीसाधनको भीडभाड देखिएपछि प्रधानमन्त्री शाहले केवल सुरक्षा व्यवस्थापनबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राख्नुभएको थियो । सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई स्थान परिवर्तन गर्न भनेको विषयबारे गुनासो आएपछि तुरुन्तै समन्वयगरी पत्रकारहरुको पहुँचमा कुनै रोकटोक नभएको जानकारी गराइएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।