काठमाडौं, ३ चैत । मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावितहुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो । पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो बुकिङ रद्ध गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँले मध्यपूर्वका देश भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक हवाई असुरक्षा र उडान रद्द भएका कारण आउन सकेका छैनन् । यही अवस्था लम्बिँदै गएमा कोभिड–१९ महामारीमाजस्तै पर्यटन क्षेत्र ठप्प हुनसक्छ भन्नुभएको छ । पदयात्रामा आउने विदेशी पर्यटक न्यूनहुँदा अन्नपूर्ण संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल सुनसान बनेको उहाँको भनाइ छ ।

पदयात्रा पर्यटनका लागि चैत–वैशाखको याम उत्तम मानिन्छ । अध्यक्ष आचार्यले यो विदेशी पर्यटक बढी आउने याम हो, यही बेला मध्यपूर्वमा चर्किएको युद्धले आवागमन प्रभावित बनेको छ, पर्यटकले बुकिङ रद्द गरिरहेका छन् भन्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस याममा दैनिक तीन हजार पाँच सयदेखि चार हजारसम्म पर्यटक नेपाल भित्रने गरेकामा मध्यपूर्वको तनावपछि एक हजार आठ सयदेखि दुई हजारसम्म मात्र पर्यटक आइरहेको बताउनुभयो । उहाँले युरोप, अमेरिकालगायत पश्चिमा मुलुकबाट मध्यपूर्वका देशहुँदै नेपाल आउने पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको छ । चाँडो युद्ध समाप्त भएर मध्यपूर्वको अवस्था सामान्य नबन्ने होभने अझै ठूलो संकट नेपालको पर्यटन क्षेत्रमा आउँछ भन्नुभयो । मध्यपूर्वमा जारी युद्धका कारण कतार र युएईजस्ता मुख्य ‘ट्रान्जिट हब’हरु प्रभावित हुँदा नेपालमा पर्यटक आगामन घटेको प्रमुख लामिछानेले बताउनुभयो । नेपाल आउने पर्यटकमध्ये ७० देखि ७८ प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । प्रमुख लामिछानेले पर्यटन बोर्डले पछिल्लो समय दक्षिणपूर्वी एसियाली देशमा पर्यटन प्रवद्र्धनको सोच र योजना बनाइरहेको छ । यसले नेपालको पर्यटन बजारलाई अन्तरराष्ट्रिय जगत्मा थप विस्तार गर्छ भन्नुभयो ।

विदेशी मुलुकमा भइरहेको युद्ध र अशान्तिको असर नेपालको पर्यटन क्षेत्रमा पनि पर्ने भएकाले नयाँ ढंगले पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्ने उहाँको भनाइ छ । ‘दा भिन्ची’ टुर्स एन्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत राजु थापाले नेपाललाई हवाई मार्गबाट जोड्ने कतार, युएई, कुवेतलगायत देशको हवाई उडान प्रभावित हुँदा नेपाल आउने पर्यटकलगायत सर्वसाधारण समस्या परेको बताउनुभयो । उहाँले असुरक्षाका कारण धमाधम उडानहरु रद्द भइरहेका छन्, वैकल्पिक हवाई मार्ग प्रयोगगर्दा महँगो शुल्क तिनुपर्ने बाध्यता छ भन्नुभयो । नेपाल आउने अधिकांश पर्यटक र यात्रुले ‘प्रि–बुकिङ’ रद्दगरेको प्रमुख कार्यकारी अधिकृत थापाले बताउनुभयो । युरोप, अमेरिकालगायत पश्चिमा देशबाट नेपाल आएका पर्यटकलाई सम्बन्धित देशमा फर्किन कठिन भइरहेको उहाँको भनाइ छ । रासस