काठमाडौं, ४ चैत । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ । ब्यूरोले प्रतिवादी अशोक शेरचनसमेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डंगोललाई पक्राउ गरेको हो । सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डंगोलले नेपाल राष्ट्रबैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ । आरोपी डंगोलमाथि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डंगोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । ब्युरोले यसअघि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट डंगोलले कर्जा दुरुपयोग गर्ने÷गराउने कार्यमा भूमिका खेलेको देखिएको हो । ललितपुरका डंगोललाई बैंकिङ कसुर तथा सजाय ऐन–०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो । रासस