काठमाडौं, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्नगर्न सहयोग गरेकामा एमालेलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापनगर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गर्नुभएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयकाअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार आउनुभएको थियो । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफलपार्न भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो । उहाँले यो कठीन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुनभन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीले एकैपटकको जनमतले सधैँका लागि पार्टीहरुको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरुका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् भन्नुभयो । एमाले नेताहरुले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उहाँ नेतृत्वको सरकारलाई बधाई दिनुभयो ।

मुलुकलाई कठीन घडीमा नेतृत्व प्रदानगरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिनुभयो । उहाँहरुले यस पटकको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेकोभन्दै सरकारको प्रशंसा पनि गर्नुभउको थियो ।