काठमाडौं, ५ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताउनुभयो । उहाँले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयनहुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राख्नुभयो । अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रुपमा विकासगर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नसके निर्यात वृद्धिगर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न गुणस्तरसँगै परिमाण पनि बडाउन आवश्यक छ भन्नुभयो । उहाँले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोडदिँदै त्यसका लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारीदिँदै उहाँले यसले सङ्गठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीको प्रतिनिधित्व बढ्ने बताउनुभएको थियो । रासस