काठमाडौं,५ चैत । मनमोहन प्राविधिक विश्वबिद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाईएको घटना रहस्यपूर्ण रहेको छ । सो घटनाको सत्यतथ्य पत्तालगाउन विश्वबिद्यालय संरक्षण समितिले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालय ऐनको दफा २४ को व्यवस्था बमोजिम रहेको संरक्षण समितिले छानबिनका लागि यो समिति गठनगर्ने निर्णय गरेको हो । समितिमा संरक्षण समितिका सदस्य राजन केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ । सदस्यहरुमा संरक्षण समितिकै सदस्य मुकेश उपाध्याय र उच्च अदालत विराटनगर बार एसोसिएसनका पूर्वअध्यक्ष सुरेशलाल श्रेष्ठ रहेका छन् ।
१५ दिनभित्र प्रतिवेदन पेशगर्ने कार्यादेश पाएको यस समितिलाई घटनास्थलको स्थलगत अध्ययन गर्ने, घटनासँग सम्बन्धित तथ्य तथा तथ्यांकहरु संकलनगर्ने र शिक्षक, कर्मचारी लगायतका सरोकारवालाहरुसँग आवश्यक सूचना लिने जिम्मेवारी तोकिएको छ । त्यसैगरी गृह मन्त्रालयले पनि अलग्गै छानबिन टोली गठन गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थाहा भएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य रहनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले २४ घण्टाभित्र घटनाको विषयमा जवाफ मागेको थियो। विश्वविद्यालयले यसअघि जिल्ला प्रशासन कार्यालयलाई पठाएको जवाफमा ल्याबका लागि कोठा खालीगर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरु मुचुल्का उठाएर जलाइएको दाबी गरेको थियो । चर्चामा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तकहरु करिब १३ हजार थान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र ती सुरक्षित नै रहेको जवाफ विश्वविद्यालयले दिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।