काठमाडौं, ६ चैत । लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफलगर्दै भावी रणनीति तय गर्नका लागि यही चैत ८ र ९ गते काठमाडौंमा पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालनगर्ने प्रमुख संस्थाको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीतिनिर्माता, सरकारी निकायका प्रतिनिधिहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्यगरी ५०० जनाभन्दा बढीको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित दुई दिनसम्म चल्ने सम्मेलनमा सातवटा सत्रमा लघुवित्तका विविध आयाममा सामूहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । सम्मेलनमा ‘लघुवित्त सदस्यहरुको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौती र सावधानीका उपाय’, ‘युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ । विश्वका १७७ वटा देशहरुमा लघुवित्त कार्यक्रम सञ्चालन भएकामा सदस्यहरुको सम्मेलन नेपाल एकमात्र देश रहेको पत्रकार सम्मेलनमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले बताउनुभयो । उहाँले लघुवित्तका नीतिनिर्माता तथा नियामकको सहभागितामा विश्व सम्मेलन, क्षेत्रीय तथा राष्ट्रिय सम्मेलनगर्ने प्रचलन छ । सदस्यहरुलाई सहभागिता गराई उनीहरुको सम्मेलनगर्ने नेपाल एकमात्र देश हो भन्नुभयो । सदस्यहरु नै लघुवित्तको अभिन्न अंग भएको र उनीहरुलाई केन्द्रविन्दुमा राखी सम्मेलन हुँदै आएको उनको भनाइ छ ।
स्वावलम्बन विकास केन्द्रले ०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । गरिबी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता वृद्धि, दिगो विकासजस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुले भूमिका खेल्दैआएका छन् । लघुवित्तले चुलोचौकोमा सीमित महिलालाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको, बालबालिकालाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेकाजस्ता सफल उदाहरणहरु रहेको श्रेष्ठले बताउनुभयो । सरकारले लघुवित्त संस्थालाई कम्पनी मोडलमा रुपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाँड्ने होडबाजी चलेको, यसका लागि आवश्यकताभन्दा बढी ऋण दिँदा विकृति बढाएको उहाँले बताउनुभयो । अस्वस्थ प्रतिस्पर्धाले समस्या देखिएका भन्दै त्यसलाई सुधार गरेर लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने र यसैबाट नेपालको ग्रामीण अर्थतन्त्रले काँचुली फेर्ने उहाँले दाबी गर्नुभयो । विकासको मुख्य शक्ति युवावर्गमा सिर्जनात्मकता, ऊर्जा, शिक्षा र सीपको ठूलो सम्भावना भएपनि पर्याप्त स्वरोजगार अवसर नहुँदा धेरै युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । अब लघुवित्त संस्थाले युवालाई स्वरोजगार बनाउन काम गर्नुपर्ने त्यो लघुवित्त कार्यक्रमका लागि नयाँ आयाम हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले अब लघुवित्तहरुले युवालाई लक्षित गरेर आफ्नो कार्यक्रम अघि बढाउन केन्द्रित हुनुपर्छ ।
त्यसैका लागि हामीले यस वर्षको सम्मेलनको नारा पनि युवा उद्यमशिलतामै केन्द्रित गरेका छौँ भन्नुभयो । हाल लघुवित्त वित्तीय संस्था र लघुवित्त कारोबारगर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदानगरी रहेका छन् । लघुवित्तहरुले वित्तीय सेवाका अलावा ‘क्रेडिट प्लस’ को सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न काम गरिरहेका छन् । यस्तै ‘थ्री जिरो’ अवधारणाअन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित युवाको क्लब गठन गरी काम गरिरहेको छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८२ असोजसम्ममा ५२ वटा लघुवित्त वित्तीय संस्थाहरुले देशभर पाँच हजार शाखामार्फत संस्थाले ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन् । जसमध्ये महिलाको सङ्ख्या ९५ प्रतिशत छ । सत्ताइस लाख सदस्यहरुले लघुवित्तगर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाले रु चार खर्ब ९५ अर्बभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्तबाहेक ५० वटा लघुवित्त सञ्चालनगर्ने सहकारी संस्था पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।रासस