काठमाडौं, ६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा बढ्दो द्वन्द र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताउनुभएको छ । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हिजोदेखि शुरु तेश्रोे अन्तरराष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा उहाँले विश्व शान्तिका लागि लुम्बिनीले पुनःएकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभउको थियो । महोत्सव नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा शुरुभएको हो । मन्त्री सिन्हाले आजको अशान्त विश्वमा भगवान् बुद्धको करुणा र अहिंसाको सन्देश पुनर्जीवित गर्नु अपरिहार्य छ । नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रुपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्यगर्न चाहन्छ भन्नुभएको थियो ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तरराष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दैगइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गर्नुभयो । उहाँले चीन शान्तिपूर्ण विकासको मार्गमा अघिबढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरुसँग सहकार्यगर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल–चीनबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उल्लेखगर्दै उनले लुम्बिनीले विश्व शान्तिको प्रतीकका रुपमा स्थापित भइसकेको धारणा राख्नुभयो । उहाँले महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रता र बौद्ध सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु भन्नुभउको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको उल्लेखगर्दै शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई खेलकुदमार्फत विश्वमञ्चमा स्थापितगर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभउको थियो । उहाँले अन्तरराष्ट्रिय शान्ति म्याराथनसहित विभिन्न खेलकुद गतिविधिहरुले शान्ति र विकासको सशक्त माध्यमका रुपमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभउको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केबल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले ध्यान र साधनाबाट मात्र वास्तविक शान्ति प्राप्तगर्न सकिने उल्लेखगर्दै लुम्बिनी सम्पूर्ण मानव समुदायका लागि खुला आध्यात्मिक केन्द्र भएको बताउनुभएको थियो । महोत्सवअन्तर्गत आज शुक्रबार मायादेवी मन्दिर परिसरमा विशेष ध्यान (मेडिटेशन) कार्यक्रम आयोजना गरिनेछभने भोली शनिबार अन्तरराष्ट्रिय शान्ति म्याराथन सञ्चालन हुनेछ । यससँगै सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रम पनि समावेश गरिएको छ । लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रुपमा प्रवद्र्धनगर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताउनुभएको छ ।