काठमाडौं,८ चैत । पोखरालाई मुख्य कार्यथलो बनाउनुभएका कवि तथा साहित्यकारहरुले तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको हिजो स्थलगत अवलोकन भ्रमण गरेका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवं भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन तथा साहित्यिक कार्यक्रमका क्रममा उनीहरुले यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै पर्यटकीय महत्व र सम्भावनाबारे जानकारी लिएका हुन् ।

त्यसक्रममा उनीहलाई प्राकृतिक एबं ऐतिहासिक महत्वको भिमाद नगरपालिका–९ स्थित सिद्ध गुफा, चमेरे गुफासँगै भिमबाँध, ३०० वर्षभन्दा पुरानो शिवालय मन्दिर, ढोर मिनमखानीको फलाम खानीबाट निकालेर बनाइएको झोलुंगे पुलआदिबारे भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनु भयो । भिमाद क्षेत्रमा महत्वपूर्ण प्राकृतिक एबं ऐतिहासिक महत्वकास्थल रहेको बताउँदै उहाँले नगरपालिकाले यी गन्तव्यको पर्यटकीय उपयोगलाई जोड दिएको उल्लेख गर्नुभयो । अवलोकनकै क्रममा सिद्ध गुफा क्षेत्रमा आयोजित साहित्यिक कार्यक्रममा कवि तथा साहित्यकारहरु सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देल, कृष्ण भण्डारी मुमुुक्षु, बसन्त चालिसे, चन्द्रावती वाग्ले, बेदहरि तिमल्सिना, कमल पौडेल(अथक), सिर्जना सापकोटा, शान्ति कँडेल, पुण्यप्रसाद भट्टराई, दिनानाथ पराजुली, नवराज न्यौपाने, गायत्री पराजुली, भिमबहादुर ज्यालादारी, डा विष्णुप्रसाद शर्मा, डा कृष्ण भण्डारी, डा भूमिराज बस्ताकोटी, विश्वबन्धु भण्डारीलगायतले विभिन्न विधाका रचना वाचन गर्नुुभएको थियो ।

कार्यक्रममा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले प्रतिष्ठानले हरेक महिना विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी साहित्यिक कार्यक्रमसँगै अनुसन्धानात्मक कार्यक्रम सञ्चालनगर्दै आएको उल्लेख गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य एबं कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले यस कार्यक्रमले भिमाद क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा टेवापुग्ने विश्वास लिइएको बताउनुुभयो । प्रतिष्ठाने साहित्यक पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राख्दैआएको उहाँको भनाइ छ । रासस