
काठमाडौं,८ चैत । एमाले बिभाजित गराउन फेरी केही नेता परिचालित हुनथालेको थाहाभएको छ । यसैक्रममा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले अहिलेको अवस्थामा आइपुग्नुका कमजोरीलाई सुधारगर्न नसके अर्को निर्वाचनमा सिट संख्या एउटा स्कुटरमा अट्ने हुनसक्ने टिप्पणी गर्नुभएको छ । हिजो शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उहाँले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमालेमात्र नभई पुराना राजनीतिक दलहरुको अवस्था दयनीय बनेको र अझै पनि कार्यशैली परिवर्तन नगर्ने होभने सामूहिक मलामी जाने अवस्थामा पुग्ने टिप्पणी गर्नुभएको थियो । गत फागुन २१ को प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न एमालेभित्र केही नेताहरुले दबाब बढाएका छन् ।
पार्टीभित्र र बाहिर नेतृत्व छोड्न चौतर्फी दबाब भए पनि ओली गत मंसिरको अन्तिम साता पार्टीको अर्ली महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष निर्वाचित हुनुभएको थियो । प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरेर पार्टी नेतृत्वमा पुनः अनुमोदित भएपछि ओलीविरुद्ध पार्टीभित्रको मत कमजोर भएको थियो । गत चुनावमा ओलीदेखि पदाधिकारी सबै पराजित हुनु र प्रत्यक्षतर्फको सिट संख्या इतिहासमै कम हुनुले एमालेको सांगठनिक पकड भत्किएको देखिएको छ ।
छलाखभन्दा बढी संगठित सदस्य र बलियो संगठन भएको दाबीगर्ने एमाले अहिले संसदमा कमजोर अवस्थामा पुगेको छ । पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, वर्तमान उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरु अध्यक्ष ओलीको राजीनामाको लागि खुलारुपले दबाबदिँदै आएका छन् । तर अध्यक्ष ओली र उहाँ पक्षीय नेताहरु अब पार्टीमा सुधार गरेर अगाडि बढ्ने पक्षमा रहेको बताइन्छ ।