काठमाडौं,१० चैत । बिभिन्न जिल्लाबाट वाम एकताका लागि अभियान थालिने भएको छ । गत फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनको परिणामले नेपालका वामपन्थी शक्तिहरुलाई गम्भीर झट्का दिएकोभन्दै झापाबाट एमालेका नेता नरेश खरेल, पूर्व केन्द्रीय सदस्य रविन कोइराला र गणेश पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका झलकसिंह दर्लामी, पुष्प पोखेल, ज्योतिसिंह दर्लामी, रन्जित तामाङ, नेकपा संयुक्तका निलमणी बराल, नेकपा (माओवादी) का अर्जुन पाण्डे, प्रगतिशील लोकतान्त्रिक पार्टीकी लक्ष्मीदेवी न्यौपाने सरु लगायतका विभिन्न वामपन्थी नेताहरुले आन्दोलनको पुनर्गठन र एकताको आह्वान गर्नुभएको छ । उहाँहरुले जारीगरेको संयुक्त अपिलमा यस पटकको चुनावी पराजयलाई इतिहासकै गम्भीर मोडकारुपमा व्याख्यागर्दै तत्काल आत्मसमीक्षा र संरचनागत सुधारको आवश्यकता रहेको भनिएको छ ।
वामपन्थी धार कमजोर बन्दैगएको, जनविश्वास घट्दै गएको र समाजवादप्रति आशंका बढ्दैगएको उल्लेखगर्दै नेताहरुले अहिलेको अवस्थालाई सामान्य राजनीतिक उतारचढाव मात्र नभई गहिरो संकटको संकेत भन्नुभएको छ । नेताहरुले पराजयको मुख्य कारण बाह्य शक्तिको प्रभाव मात्र नभई आन्तरिक कमजोरी भएको बताएका छन्। ‘विदेशी चलखेल सधैं रहन्छ, तर त्यसलाई बहाना बनाएर नेतृत्वले आफ्ना कमजोरी लुकाउन खोज्नु स्वीकार्य हुँदैन भन्नुभएको छ ।
उहाँहरुका अनुसार लामो समयदेखि पार्टीहरुभित्र बढ्दै गएको गुटबन्दी, विधान उल्लंघन, सत्ताकेन्द्रित राजनीति र जनतासँगको दूरीले वाम आन्दोलनलाई कमजोर बनाएको हो । विज्ञप्तिमा वर्तमान संकटबाट बाहिर निस्कन वामपन्थी शक्तिहरुबीच व्यापक छलफल, एकता र पुनर्गठन आवश्यक रहेको विज्ञप्तिमा जोड दिइएको छ ।