काठमाडौं,११ चैत । यही चैत १३ गतेदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला, २०८२ आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले हिजो काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १३ गतेदेखि १६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । बागमती प्रदेशका किसानको मनोबल अभिवृद्धि गर्नुकासाथै युवा शक्तिलाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले बताउनुभयो । हेटौँडास्थित पल्पसा सदनमा आयोजना हुने मेलामा मकवानपुरसहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं र चितवनलगायतका जिल्लाका कृषक तथा कृषि उद्यमीहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभएको थियो ।
कोदो, जुनेलो, फापरको पिठो, गेँडागुडी, मह, मसला, बाँसका सामग्री, केराका परिकार, अचार, धुप, गोबरबाट बनेको दियो, म्याट, मस्यौरा, क्यान्डी, आलु, गुन्द्रुक, जुनारको जुस, दाना, अण्डा, तेल, च्याउ, माछा, डेरी उत्पादनलगायतका सामानको प्रदर्शनीमा ४० वटा स्टल निःशुल्क उपलब्ध गराइने अध्यक्ष रानाभाटले बताउनुभएको थियो । बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजनागर्न लागिएको मेलामा कृषि प्रविधिसम्बन्धी उपकरणसमेत प्रदर्शनीमा राखिने छन् । रासस