काठमाडौं,१२ चैत । उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी शुरु भउको छ । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ । महासंघको कार्यकारिणी समितिको १५ औँ बैठकले गरेको निर्णयअनुसार यहि चैत्र २९ गते साधारणसभा र त्यसलगत्तै चैत्र ३० गते निर्वाचन कार्यक्रम तयगरिएको छ । महासंघकाअनुसार साधारणसभा ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुनेछभने निर्वाचन कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिनेछ । महासंघद्वारा निर्धारित कार्यक्रमअनुसार चैत्र २९ गते आइतबार बिहान साधारणसभाको उद्घाटन सत्र सम्पन्न हुनेछ । उद्घाटनपछि सोही दिन महासंघको विधानअनुसार वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, नीतिगत छलफल तथा अन्य नियमित एजेन्डाहरुमाथि छलफल गरिनेछ । त्यसको भोलिपल्ट चैत्र ३० गते सोमबार निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । निर्वाचन समितिले निर्धारण गरेको समयतालिका अनुसार उपाध्यक्ष पदसहित कार्यकारिणी समितिका सदस्यहरुको चयन प्रक्रिया अघि बढाइनेछ ।
महासंघभित्र मुख्यगरी दुई समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना रहेकोले निर्वाचनलाई निकै चासोकासाथ हेरिएको छ । महासंघका अनुसार निर्वाचनमा भाग लिन इच्छुक संघ–संस्थाहरुले आर्थिक वर्ष ०८२÷८३ सम्मको सदस्यता शुल्क, प्रतिनिधि शुल्क तथा उम्मेदवारी शुल्क अनिवार्य रुपमा बुझाइसक्नुपर्नेछ । त्यसैगरी मनोनयन पत्र, प्रतिनिधि पत्र तथा सम्बन्धित संघको कार्यकारिणी समितिको निर्णयको प्रमाणित प्रतिलिपि साधारणसभा हुनुभन्दा सात दिनअघि अर्थात् चैत्र २२ गते साँझ ५ बजेभित्र महासंघको सचिवालयमा दर्ता गराइसक्नुपर्ने व्यवस्था गरिएको छ । महासंघले डिजिटल माध्यमलाई समेत सहजीकरणको रुपमा स्वीकार गर्दै प्रारम्भिक रुपमा कागजातहरु इमेलमार्फत पठाउन सकिने व्यवस्था गरेको छ । तर, त्यस्ता कागजातको सक्कलप्रति भने अनिवार्य रुपमा साधारणसभा शुरु हुनुभन्दा तीन दिनअघि अर्थात् चैत्र २६ गते साँझ ५ बजेभित्र सचिवालयमा बुझाइसक्नुपर्नेछ । अन्यथा, त्यस्ता उम्मेदवारहरुको मनोनयन स्वतः खारेज हुने जनाइएको छ । साधारणसभामा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको अध्यक्ष स्वयम् मुख्य प्रतिनिधि रहनुपर्ने व्यवस्था गरिएको छ । अध्यक्ष स्वयम् उपस्थित हुननसक्ने अवस्थामा सम्बन्धित सदस्य संघको कार्यकारिणी समितिले आफूमध्येबाट प्रतिनिधि छानि मुख्य प्रतिनिधिसहितको प्रतिनिधिमण्डलको नाम पठाउनुपर्नेछ ।
जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधिसहित तीन जना प्रतिनिधि पठाउन सक्नेछन् भने वस्तुगत संघहरुले दुईजना र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुले एकजना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ । एशोसिएट सदस्यहरुको हकमाभने एकजना मुख्य प्रतिनिधि पठाउने प्रावधान राखिएको छ । एशोसिएट सदस्यहरुको हकमाभने प्रतिनिधि चयनका लागि थप मापदण्ड तोकिएको छ । सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष, सञ्चालक सदस्य, कार्यकारी सञ्चालक, कार्यकारी प्रमुख, महाप्रबन्धक, नायब महाप्रबन्धक वा सो सरहका पदाधिकारीलाई मात्र मुख्य प्रतिनिधि बनाउन पाइनेछ । महासंघ सदस्यहरुले चैत्र २७ गतेसम्म वार्षिक सदस्यता शूल्क, प्रतिनिधि शूल्कलगायत सबै शुल्क बुझाइसक्नुपर्नेछ भने उम्मेदवार खडा गर्ने संघ–संस्थाहरुले चैत्र २२ गतेभित्रै सम्पूर्ण शुल्क तिर्नुपर्नेछ । शूल्क तिर्न समयसीमा नाघेमा त्यस्ता उम्मेदवारी स्वतः अमान्य हुने व्यवस्था गरिएको छ । यसबीच, महासंघका पर्यवेक्षक सदस्य संघहरुलाई साधारणसभामा सहभागी हुन दिइने भए पनि उनीहरुलाई उम्मेदवारी दिन तथा मतदान गर्न नपाइने व्यवस्था कायम राखिएको थाहा भएको छ ।