तेहरान, १५ चैत । आजबाट पाकिस्तानी मध्यस्थतामा इरान र अमेरिकाबीच वार्ता हुँदैछभने इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि पाकिस्तानले गरेको मध्यस्थताको प्रशंसा गर्नुभएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको कुराकानीमा पेजेश्कियानले इस्लामिक गणतन्त्र विरुद्धको आक्रमण रोक्नका लागि मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिनुभएको हो । साउदी अरब, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरु मध्यपूर्वको युद्धबारे वार्ताका लागि इस्लामावादमा भेट्ने तयारी गरिरहेका बेला यो फोनवार्ता भएको र मध्यस्थताका लागि आभार व्यक्त भएको हो । यसअघि, इरानले अज्ञात मध्यस्थकर्ताहरुमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको थियो । जवाफ दिएपछि इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहने बताएको थियो ।

पाकिस्तानी अधिकारीहरुका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रुपमा जानकारी गराइएको छैन । अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत बुधबार राति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उद्धृतगर्दै तस्निमले जनाएको थियो । इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ ।

पाँच बुँदामा आक्रामकताको अन्त्यगर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ । रासस,एएफपी