इस्लामावाद, १६ चैत । प्रमुख क्षेत्रीय शक्तिहरुका शीर्ष कूटनीतिज्ञहरु मध्य पूर्वमा लडाइँ कसरी अन्त्यगर्ने भनेर छलफलगर्न हिजो आइतबार पाकिस्तानमा भेला भएका थिए । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण जारी राखेपछि र तेहरानले यस क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेर जवाफ दिएपछि प्रगतिका संकेत भने टाढा देखिएका छन् । इस्लामावादमा हुने वार्तामा साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरु सहभागी हुने पाकिस्तानले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले इरानका राष्ट्रपति मसुद पेजेस्कियानबीच क्षेत्रीय तनावबारे व्यापक छलफल भएको बताउनुभएको छ । इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि शुरुभएको एक महिना लामो युद्धमा तीन हजारभन्दा बढी मानिस मारिएका छन् । अमेरिका र इजरायलले इस्लामावादको वार्तामा सहभागिता जनाएका छैनन् । इरानी संसद्का सभामुख मोहम्मद बाघर कलिबाफले अमेरिकाले मध्यपूर्वमा थप सेना पठाउने क्रममा वार्ता बहाना बनाउन खोजेको बताउनुभयो ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उहाँले कुनै पनि स्थलगत आक्रमणको विरुद्ध चेतावनी दिनुभएको छ र इरान अमेरिकी सेनालाई आक्रमण गर्न र अमेरिकी क्षेत्रीय सहयोगीहरुलाई उनीहरुको भूमि प्रयोग गर्न दिएमा सजाय दिन तयार रहेको बताउनुभएको छ । इजरायलले आइतबार इरानबाट आक्रमणको श्रृङ्खला आएको बताएको छ भने र तेहरान क्षेत्रमा व्यापक विस्फोटको आवाज सुनिएको छ । यसैबिच, इजरायलले आणविक अनुसन्धान र विकासका लागि प्रयोग भएको दाबीगरेका विश्वबिद्यालयसहित कैयौँ विश्वबिद्यालयमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले आइतबार आक्रमण बढाउने चेतावनी दिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै इरानले इजरायली विश्वबिद्यालय र यस क्षेत्रका अमेरिकी विश्वबिद्यालयका शाखालाई वैध लक्ष्य मान्नेछ । जर्जटाउन, न्यूयोर्क विश्वबिद्यालय र नर्थवेष्टर्न सहित अमेरिकी कलेजहरुको कतार र युएईमा क्याम्पसहरु छन्।
गाड्र्सले जारीगरेको विज्ञप्तिमा यदि अमेरिकी सरकार यस क्षेत्रका आफ्ना विश्वबिद्यालयहरुलाई बचाउन चाहन्छ भने, उसले इरानी विश्वबिद्यालयहरुमा भएको बमबारीको निन्दा गर्नुपर्छ भनिएको छ। विज्ञप्तिमा अमेरिकासँग इजरायललाई इरानी विश्वबिद्यालय र अनुसन्धान केन्द्रहरुमा आक्रमणगर्नबाट रोक्न पनि माग गरिएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले गत शनिबार इरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी गरी दर्जनाँैं विश्वबिद्यालय र अनुसन्धान केन्द्रहरु प्रभावित भएको बताउनुभएको थियो । रासस,एपी