काठमाडौं,१७ चैत । पछिल्लो समय मकवानपुरमा डेंगु संक्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना डेंगु संक्रमित भेटिएका छन् । सबैभन्दा बढी डेंगुबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन् । हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौ÷नौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुई÷दुई जना डेंगुबाट संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । उहाँकाअनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एकजना डेंगु संक्रमित भेटिएको छ । यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामामात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो । जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान शुरुगरिएको छ ।