
काठमाडौं,१८ चैत । नेपालको अर्थतन्त्रलाई थप निजीकरण गरिने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरुको देशकारुपमा चिनाउनेगरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग भएको भेटमा उहाँले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्यगर्न हातेमालो गर्न सरकार तयार रहेको बताउनुभएको थियो । अर्थमन्त्री डा वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले हामी देश बनाउने हुटहुटीका साथ आएका छौँ, अब अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौँ । तपाईंहरुलाई उड्ने र फैलने सुविधा राज्यले प्रदान गर्छ । इमान्दार उद्योगी–व्यवसायी कानूनी जटिलताका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ ।
रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट कुनै किसिमको हैरानी हुन नहुने अवस्था बनाउन हामी प्रतिबद्ध छौँ भन्नुभयो । अर्थमन्त्री डा वाग्लेले उद्योग–व्यवसाय प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था र सहजीकरणका विषयमा निजी क्षेत्रबाट सुझाव मागिनेसमेत बताउनुभयो । उहाँले अर्थतन्त्र निर्माणका लागि राज्यले गर्नुपर्ने सबै कार्य गर्न तयार छौँ, तर निजी क्षेत्र पनि इमानदार हुनुपर्छ भन्नुभयो । अर्थमन्त्री डा वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एकठाउँमा उभिनुपर्नेमा जोडदिँदै निजी क्षेत्रसँग पारदर्शिता र जिम्मेवारीको अपेक्षा गर्नुभएको थियो । उहाँले निजी क्षेत्र इमानदार भए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, म त्यसको जिम्मा लिन्छु । तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने सरकार निर्मम हुन्छ भन्नुभएको थियो ।