वाशिंटन, २१ चैत । इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको र अमेरिकी सेनाले चालक दलका सदस्यमध्ये एकलाई उद्धार गरेको छ । इरानी सञ्चारमाध्यमले विमानको भग्नावशेषको फुटेज प्रसारण गरेपछि प्रमुख अमेरिकी सञ्चारमाध्यमहरुले पनि हिजो शुक्रबार इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको पुष्टि गरेका छन् । एक्सिओस र सीबीएस न्यूजले अज्ञात स्रोतलाई उद्धृतगर्दै विमानमा रहेका दुई चालक दलमध्ये एकलाई अमेरिकी विशेष बलले उद्धार गरिसकेको तर चालक दलका दोस्रो सदस्यको खोजी कार्य जारी रहेको जनाएको छ । द न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका अनुसार उक्त एफ–१५–इ लडाकु विमानमा चालक र अमेरिकी रक्षा प्रणालीका एक अधिकृत सवार थिए ।

सीएनएनले इरानी मिडियाले देखाएको भग्नावशेषमा एफ–३५ स्टील्थ लडाकुको सट्टा एफ–१५ देखिएको छ । अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको जनाएका छन् तर प्रतिक्रियाकोे लागि एएफपीले गरेको सम्पर्कमा ह्वाइट हाउस वा पेन्टागनबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले युद्धको आदेश दिएयता इरानभित्र पहिलो विमान गुमाएपछि विशेष अमेरिकी सेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ ।

सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यमहरुमा प्रसारित तस्बिर र भिडियोहरुलाई उद्धृतगर्दै प्रमुख अमेरिकी सञ्चारमाध्यमले अमेरिकी हेलिकप्टर र अन्य विमानहरु खसालिएको अनुमान गरिएको लडाकू विमानको भन्दा कम उचाइबाट उडिरहेको बताएका छन् । रासस, एएफपी