काठमाडौं, २१ चैत । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम संकलन गर्नेगरी काम गर्नका लागि बीरगञ्ज भन्सारका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री वाग्लेले हिजो बीरगञ्ज भन्सार कार्यालयको निरीक्षणगर्दै लक्ष्यअनुसारको राजस्व उठाउन पनि दबाबपर्ने भए तापनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गर्नुभएको थियो । उहाँले लक्ष्यअनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी–व्यवसायीहरु मारमा पनि पर्ने गर्छन् । तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु ।
घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरु पनि रहेका छन् । त्यस्ता गुनासालाई पनि अन्त्यगर्न जरुरी छ भन्नुभएको थियो । अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा÷पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघिबढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरुले पनि पालना गर्नुहोला । बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ । तर, बजार अनुगमनको पनि दुरुप्रयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु भन्नुभएको थियो । अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गर्नुभयो । उहाँले कड्याइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर, उद्योगी व्यवसाय गर्न नै हतोत्साहि हुने वातावरण भने बनाउने छैनौँ ।
राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईँहरु मेरो नोटिसमा आउनुहुनेछ । सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्तिगर्न सकिने बताउनु भयो । अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघिबढ्ने बताउनुभएको छ । उहाँले भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिहरुमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्नेछौँ । अहिले हिजोजस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने छ । अब सेवाप्रवाहमा नयाँ अनुभवगर्न पाउनुपर्नेछ भन्नुभएको थियो । रासस