काठमाडौं, २४ चैत । नेपाल ट्रेड यूनियन कांग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड यूनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ । यूनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ (३) ले श्रमिकलाई ट्रेड यूनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजीगर्न पाउने हकको ग्यारेन्टी गरेकाले ट्रेड यूनियन खारेजगर्न नहुने जनाएको हो । यूनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि बुँदा नं १२ मा ट्रेड यूनियन खारेजगर्ने निर्णय श्रमिकलाई मान्य नहुने बताउनुभएको थियो । उहाँले हामीले दलीय ट्रेड यूनियन हुनुपर्छ भनेका छैनौँ, तर ट्रेड यूनियन खारेज गर्नुपर्छ भन्ने निर्णयमा हाम्रो आपत्ति हो ।

त्यसैले हाम्रो संगठन स्वतन्त्र तथा पेसागत ट्रेड यूनियन आन्दोलनको पक्षमा सधँै दृढ छ भन्नुभयो । यूनियनका महासचिव अजयकुमार राईले सरकारले ट्रेड यूनियन खारेजसम्बन्धी गरेको निर्णय नेपालको संविधान र अनुमोदित अन्तरराष्ट्रिय महासन्धिसँग पनि मेल नखाने बताउनुभयो । सरकारको उक्त घोषणाले अन्तरराष्ट्रिय ट्रेड यूनियनले पनि चासो राखेको र नेपालको ट्रेड यूनियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।