
काठमाडौं,२५ चैत । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको संसदीय दलको नेता छान्न सकेको छैन । प्रतिनिधिसभाको निर्वाचन सकिएको एक महिना भइसकेको छ । प्रतिनिधिसभामा प्रतिपक्षी दलको नेताको अभाव भएको छ । निर्वाचित नयाँ प्रतिनिधिसभाको अधिवेशन शुरुभएको पनि एक साता बितिसकेको छ । नयाँ प्रतिनिधिसभाले सभामुख चयन गरिसकेको छ भने उपसभामुख चयनको तयारीमा छ । सरकारले केही दिनभित्रै जारी अधिवेशन अन्त्यगर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नसक्ने संभावना पनि छ । तर प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अझै संसदीय दलको नेता चयनगर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसले दलको नेता चयनगर्न अझै प्रक्रिया शुरु गरेको छैन । सो पार्टीका कतिपय सांसदहरुका अनुसार संसदीय दल नेता चयन प्रक्रिया शुरुगर्न केही समय लाग्ने देखिएको छ ।
शेरबहादुर देउवा र गगन थापा समूहका बीचमा सहमतिमा संसदीय दलको नेता चयनगर्न अनौपचारिक छलफल भइरहेको नेताहरुले जनाएका छन् । पार्टीको सभापति गगन थापाले लिएका कारण संसदीय दलको नेता देउवा समूहलाई दिनुपर्ने माग भएको छ । केही दिनअघि कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउनेभन्दै सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको भनिएको थियो । तर सो समिति गठनको विषयलाई कांग्रेसले औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन । संसदीय दलको नेताको आक्यांक्षीमा पूर्व–सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे बलियो दाबेदार देखिनुभएको छ ।
फागुन २१ गते भएको प्रतिनिधिसभाको चुनावको लागि समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रुपमा शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको थियोभने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बन्नुभएका सभापति गगनकुमार थापाले हस्ताक्षर गर्नुभएको थियो । दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरु संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको नेताहरुको भनाइ छ ।