काठमाडौं,२५ चैत । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले जेनजी विद्रोहपछि भएको चुनावमार्फत् अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको छ । ३७ औं जनआन्दोलन दिवसका उपलक्षमा पार्टी कार्यालय कुपण्डोलमा हिजो भएको कार्यक्रमलाई सम्बोधनगर्दै पार्टीका महासचिव गजुरेलले उपरोक्त कुरा बताउनुभएको हो । उहाँले जनयुद्धको घोषित लक्ष्यअनुसार नेपालमा जनगणतन्त्र स्थापना भएको भए साम्राज्यवादले यसरी सत्ता कब्जागर्न सक्ने स्थिति रहने थिएन भन्नुभएको छ । महासचिव गजुरेलले अहिलेको चुनावी परिणामबाट क्रान्तिकारीहरु आत्तिनु पर्दैन, हामीलाई यो निर्वाचन कुनै अर्थ र महत्वको थिएन । यो निर्वाचन प्रायोजित हो । अमेरिकी साम्राज्यवादले आफ्ना नयाँ दलाल तयार पार्न गरिएको निर्वाचन हो भनेरनै हामीले निर्वाचन बहिष्कार गरेका हौं भन्नुभएको थियो ।
जनगणतन्त्रको एजेण्डा छोडेका कारणनै पुष्पकमल दाहालहरुको अहिलेको हालत भएको भन्दै उहाँले अब विचार र एजेण्डा मिल्ने कम्युनिष्ट पार्टीहरु, अन्य वामपन्थी शक्तिहरुसँग मिलेर जनगणतन्त्रको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ भन्नुभएको थियो । उहाँले अहिलेको सरकारले ल्याएको १०० बुँदे कार्यक्रम कम्युनिष्टहरुका विरुद्ध लक्षित रहेकोभन्दै विगतमा भएका भीषण युद्ध, आन्दोलन र बलिदानमार्फत् प्राप्त जनअधिकारहरु खोस्न खोजेकोले ती जनअधिकारहरुको रक्षाका लागि पुनः संघर्षमा जानुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट संघर्ष र संगठनका योजनाहरु निर्माण गरेको जानकारी दिँदै छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गरेर अगाडि बढ्ने बताउनु भयो र सम्पूर्ण पार्टीपंक्तिलाई संघर्ष र संगठनका योजना कार्यान्वयनका लागि विगतमाभन्दा अझ बढी सक्रियता र उत्साहका साथ लाग्न निर्देशन पनि दिनुभयो ।
त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले जेनजी विद्रोहदेखि रास्वपाको सरकारसम्म नेपाली सेनाले निर्णायक भूमिका खेलेकोभन्दै नेपाली सेनाले नेपालकोभन्दा अमेरिकाको हितमा काम गरिरहेको आरोप पनि लगाउनु भएको थियो । उहाँले तत्कालीन सरकारलाई एसपीपी सम्झौतागर्न नेपाली सेनाले सरकारलाई दबाब दिएको दावीगर्दै देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति अब सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी शक्तिहरु एकताबद्ध भएर संघर्ष गर्नुको कुनै विकल्प नरहेकोमा जोड दिनुभयो । अहिलेको बालेन सरकारले जनताको सम्पूर्ण अधिकार खोस्न थालेको भन्दै जनअधिकारका लागि विगतमा लडेका सबै जनशक्तिहरु अब एकताबद्ध भएर संघर्ष गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्षप्रति संकल्प जाहेर गर्नुनै चैत्र २४ को जनआन्दोलन दिवस मनाउनुको अर्थ रहेको भन्दै नयाँ जनवादी क्रान्तिका लागि अब जनविद्रोह भएर छाड्ने दावी गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ र एकीकृत दलित मुक्ति मोर्चाकी नेतृ शोभा सेन्चुरीले जनआन्दोलन दिवसको महत्वमाथि प्रकाशपार्दै वर्तमान दलाल बालेन सरकारका विरुद्ध संघर्षमा उत्रने उद्घोष गर्नुभएको थियो । र, जनआन्दोलन दिवसको शुभकामना दिनुभएको थियो । पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पीवीएम चिन्तामणि पौडेलले गर्नुभएको सो पार्टीले जनाएको छ ।