काठमाडौं, २४ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कार्यकर्ताहरुलाई सैद्धान्तिकरुपमा प्रष्ट हुन र जनतालाई राजनीतिक रुपमा शिक्षित गराउन निर्देशन दिनुभएको छ । पार्टीको तेस्रो केन्द्रीय समिति बैठकको समापनगर्दै उहाँले केन्द्रीय सदस्यहरुलाई आम कार्यकर्तामाझ पुगेर कार्यकर्ताहरुलाई सैद्धान्तिक रुपमा प्रष्ट पार्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले पार्टीका जनवर्गीय तथा पेसागत संगठनहरुलाई थपसक्रिय बनाउन, मजदुर आन्दोलनमा देखापरेका पुँजीवादी विचारको वैचारिकरुपमै खण्डनगर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको थियो । साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षितगर्दै जानुपर्नेमा जोडदिँदै बिजुक्छेँले पार्टी गतिविधि र जनताको समस्या बुझ्न नियमित अन्तरक्रियागर्न आग्रह गर्नुभएको थियो ।
बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापनगर्ने निर्णयगर्दै पार्टीले जिल्ला, पालिका र वडा समितिहरुमार्फत स्थानीयस्तरको टोलटोलमा पुगेर सभागर्दै मतदातालाई धन्यवाद व्यक्तगर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभएको छ । बैठकमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरेको गोसाईंले जानकारी दिनुभएको छ । रासस