काठमाडौं,२५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सरकारले उद्योगी–व्यवसायी सम्मानित हुने वातावरण बनाउने बताउनुभएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औँ वार्षिक साधारणसभाको हिजो उद्घाटनगर्दै उहाँले आगामी दिनमा उद्यमी–व्यवसायी सम्मानित महसुस हुने वातावरण सरकारले बनाउने बताउनुभएको थियो । वाचापत्रमा उल्लिखित प्रतिबद्धता पूरागर्न निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले निकासी पैठारी ऐन बन्दै छ, त्यसमा तपाइँहरुसँगको सहकार्य आवश्यक छ भन्नुभएको थियो । सरकारलाई तिर्नुपर्ने कर अनलाइनबाट तिर्न सकिन्छभने उद्यमी–व्यवसायीले सरकारबाट फिर्तापाउनुपर्ने रकम पनि अनलाइनबाट फिर्ता गर्नुपर्ने उहाँले बताउनुभएको थियो । निजी क्षेत्रका समस्या आफूले नजिकबाट अनुभूति गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत समस्या समाधानका लागि महासंघ र निजी क्षेत्रका अन्य संघसंस्थाले सहकार्य गर्नुपर्ने बताउनुभएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औँल्याउँदै उत्पादन र निर्यात प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जनताले चाहेको परिवर्तन र निजी क्षेत्रले चाहेको स्थायित्व आएकाले अब आर्थिक क्रान्तिको शुभारम्भ हुनुपर्नेमा जोड दिनुभएको थियो । संघका अध्यक्ष शिवकुमार अग्रवालले खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो ग्याप नहुनेगरी कर र महसुलका दरहरु समायोजन गर्नुपर्ने बताउनुभएको थियो । रासस