काठमाडौं, २६ चैत । नेपालमा बहुदलीय ब्यवस्था पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजनागरी जनआन्दोलन दिवस मनाइँदै छ । ०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्यगर्दै बहुदलीय ब्यवस्था पुनःस्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । ०१७ पुस १ गते राजा महेन्द्रले शुरुगरेको पञ्चायती व्यवस्थाको अन्त्य ०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्षे पञ्चायती व्यवस्थाको अन्त्यभएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो ।
कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । ००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी ०४६ फागुन ७ गतेदेखि जनआन्दोलन शुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधनगर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नुभएको थियो ।