काठमाडौं, २६ चैत । सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा समायोजनगर्न सहमति दिएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको हो । इन्धनको मूल्य बढेसँगै पटक,पटक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजनगर्न मागगर्दै आएको थियो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भाडा समायोजनका विषयमा मन्त्रालयबाट स्वीकृत प्राप्त भएकाले सहमतिका आधारमा भाडा समायोजन गरिएको बताउनुभएको छ । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर भाडा बढाएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघको अनुरोधमा हिजो सरकारले सार्वजनिक र मालवाहक सवारी साधनको भाडा समायोजन गरेको जानकारी दिनुभयो ।

सरकारले यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनको १५.७५ प्रतिशत भाडा समायोजन गरेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ छ । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्नसक्ने देखिएको छ । रासस