
काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको जानकारी गराउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान शुरुगरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहापाएको उल्लेखगर्दै नेपालको कानूनअनुसार आफूहरुले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेशगरेको अवगत गराउनुभएको छ । उहाँले देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अङ्गहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिङ्गो जीवन संघर्षमै व्यथित गरेको हुँ भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणगर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा ०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन–०५९ लागू भएको बताउनुभएको छ ।उहाँले स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजिनक भएका विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गर्दछु भन्नुभएको छ ।