काठमाडौं, २६ चैत । एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक आज प्रहरीको हिरासतबाट मुक्त हुनुभएको छ । जसबाट सरकार पूर्वाग्रही ठहर भएको छ । जेनजी आन्दोलनको घटनाको छानबिनगर्न गठित उच्चस्तरीय छानविन आयोगको प्रतिवेदन सरकारले औपचारिकरुपमा सार्बजनिकसमेत नगर्दै प्रहरीले अध्यक्ष ओलीलाई उहाँको निवास भक्तपुरको गुण्डु र लेखकलाई उहाँको निवास कटुञ्जेबाट गत १४ गते नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओलीलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपभई उहाँहरुलाई हिरासतमा राखिएकोमा सर्वाेच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरागरी मुद्दा दर्तागर्न वा रिहागर्न आदेश भएको थियो ।
अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । यसैबीच अध्यक्ष ओलीले आफूलाई सरकारले १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखेको र प्रमाण नपुगेपछि रिहागरेको बताउनुभएको छ । आज रिहा भएपछि सामाजिक सञ्जालमार्फत ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तार गरेको बताउनु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ–‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु । मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरु, कानूनी लडाइँमा अहोरात्रसाथ दिनुहुने कानून व्यवसायी मित्रहरु, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरु र सञ्चारकर्मीहरुप्रति आभार प्रकट गर्दछु ।
साथै, परमादेश जारीगर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु’ भन्नुभएको छ । त्यसैगरी उहाँले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहारगर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको बताउँदै आफ्नो रिहाइको माग गर्नेहरुमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । घाइतेहरुको उपचार खर्च राज्यले बेहोर्नुपर्ने स्मरण गराउँदै उहाँले यदी राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी पनि गराउनुभएको छ । त्यसैगरी नेकांका नेता लेखकले पनि आफ्नो गिरफ्तारी बिरुद्ध आवाज उठाउने सबैलाई धन्यवाद दिनुभएको छ ।