काठमाडौं, २९ चैत । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरुले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हिजो काठमाडौंको हाँडीगाउँमा आयोजना गरेको स्वस्थ वातावरण आजको आवश्यकता विषयक कार्यक्रममा वक्ताहरुले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोगगर्न सुझाव दिएका हुन् । वातावरणविद् भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण घटाउन भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले प्लास्टिकलगायतका फोहर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा हिँडडुल गर्दा मास्कको प्रयोगगर्न सुझाव दिनुभएको थियो ।
वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राख्नुभएको थियो । उहाँले वातावरणलाई स्वास्थ र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको थियो । समाजका अध्यक्ष महेशकुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो । समाजका उपाध्यक्ष एवं शिक्षाविद् उत्तमराज त्रिपाठी र महासचिव इञ्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कमगरी जीवन्त हाँडीगाउँ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभएको थियो ।