पेरिस, ३० चैत । मध्यपूर्वमा जारी द्वन्द अन्त्यका लागि इस्लामाबादमा भएको वार्ता हिजो आइतबार बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन् । वार्ताको मध्यस्थकर्ता पाकिस्तानले वार्ताका लागि दुबै पक्षबिच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तब्य भएको युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको बताएको छ । पाकिस्तानका विदेश मन्त्री इशाक दारले भन्नुभयो–दुई पक्षहरुले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ । उहाँले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता र संवादका लागि पाकिस्तानले भूमिका निर्वाहगर्दै आएको छ र आगामी दिनमा पनि आफ्नो भूमिकालाई महत्त्वका साथ अघि बढाउनेछ भन्नुभयो । मध्यपूर्वमा जारी द्वन्द समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली संघका विदेश मामिला हेर्ने शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताउनुभएको छ ।
पाकिस्तानले आयोजना गरेको अमेरिका–इरान वार्ता असफल भएको उल्लेख गर्दै प्रवक्ता अल अनौनीले भन्नुभयो–हामी पाकिस्तानलाई मध्यस्थताको प्रयासका लागि सलाम गर्छौं र ब्रसेल्सले आफ्ना साझेदारहरुसँगको समन्वयमा समाधानमा पुग्न थप प्रयासमा योगदान गर्नेछ । रुसले पनि आगामी दिनमा युद्धविराम मध्यस्थताका लागि इच्छा देखाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थताको प्रयासमा सहयोग गर्न आफू तयार रहेको बताउनुभएको हो । क्रेमलिनद्वारा जारी गरेको विज्ञप्तिमा रुसी नेता पुटिनले द्वन्दको राजनीतिक र कूटनीतिक समाधानको खोजीलाई अझ सहज बनाउन र मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परतामा जोड दिनुभएको छ भनिएको छ ।बेलायतले पाकिस्तानमा वार्ताका लागि भेटवार्ताको पहलकदमीका लागि पाकिस्तानी सरकारको प्रशंसा गरेको छ तर वार्ता निष्कर्षविहिन अवस्थामा प्रतिनिधिमण्डल विभक्त हुनुले निराश बनाएको बताएको छ । बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्यूजसँग भन्नुभएको छ–हामीले वार्तामा सफलता हासिल नगर्नु र इरानमा जारी युद्धको अन्त्य नहुनु निराशाजनक हो ।
उहाँले कुटनीतिमा वार्ता सफल नहुँदासम्म तपाईं असफल भएको मानिन्छ । सबै वार्ताहरु सफलतामा समाप्त नहुन सक्छन्, यसको मतलब यो होइन कि प्रयास जारी राख्नुको कुनै औचित्य छैन भन्नुभयो । अष्ट्रेलियाले थप वार्ताको आग्रह गरेको छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले एक विज्ञप्ति जारीगर्दै अहिलेको प्राथमिकता युद्धविरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु हो भन्नुभएको छ । रासस,एएफपी