
काठमाडौं,३० चैत । प्रधानमन्त्रि र मन्त्रिहरुले हिजो २९ गते सार्बजनिक गरेको सम्पति बिवरण अबिश्वसनीय रहेको भन्दै राजनीतिक क्षेत्रमा बिभिन्न टिकाटिप्पणी हुनथालेका छन् । सार्बजनिक बिवरणअनुसार प्रधानमन्त्रीकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिकरुपमा प्राप्त भएको भनिएको छ । प्रधानमन्त्रिका बाबुआमाको नाममा काठमाडौं धनुषा र महोत्तरीमा घरजग्गा रहेको भनिएको छ । सामाजिक सञ्जालबाट मात्र एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण पेश गरिएको छ । त्यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख छ । उहाँको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाइएको छ । बैंकमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन रहेको छ । बिभिन्न जलबिद्युत आयोजना, एक विकास बैंकमा सेयर रहेको छ । गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको भनिएको छ । उहाँका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २२१ रोपनी जग्गा रहेको भनिएको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र बिभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका पिता सूर्यभक्त खनालको नाममा काठमाडौंमा पाँच आनाको घर छ । पिताकै नाममा तनहुँ, नवपुर र नेपालगञ्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको उल्लेख गरिएको छ । उहाँको र श्रीमतीको नाममा बिभिन्न कम्पनीमा सेयर रहेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, बिभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उहाँसँग बिभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौं र चितवनमा घर रहेको उल्लेख छ । श्रीमानका नाममा काठमाडौंमा र सासूका नाममा चितवनमा घर रहेको भनिएको छ । कानूनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद बिभिन्न बैंकमा मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकामा सात लाख रुपैयाँ चुक्ता गरेको उहाँले सम्पत्ति विवरणमा समावेश गर्नुभएको छ । त्यसैगरी एभरेष्ट बैंकबाट उहाँले ऋण लिनुभएको देखिन्छभने उहाँको १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको भनिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । उहाँसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल पनि छन् । त्यसैगरी श्रीमानका नाममा एउटा पल्सर मोटरसाइकल छ । उहाँको नाममा नगद ५० हजार रुपैयाँ, बैंकमा श्रीमान् र उहाँका नाममा १५ लाख रुपैयाँ बराबरको नगद रहेको विवरणमा समावेश छ । मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ ।
सुन र चाँदी विवाहमा प्राप्त भएको भनिएको छ । त्यसैगरी सुर्खेतमा ८९.६५ वर्गमिटर जग्गा रहेको उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एककट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको भनिएको छ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौंमा रहेको घर श्रीमानको आयका रुपमा उल्लेख गरिएको छ । त्यसैगरी काठमाडौं र बारामा जग्गा रहेको उल्लेख गरिएको छ । उहाँसँग २५ तोला सुन, बिभिन्न बैंकमा २४ लाखबराबरको बचत रहेको छ । उहाँको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँबराबरको गाडी रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको भनिएको छ । बिभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको छ । उहाँले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको काठमाडौं र महोत्तरीमा जग्गा रहेको छ । उहाँसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश गर्नुभएको छ ।
त्यसैगरी बिभिन्न बैंकमा बचत र बिभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख गर्नुभएको छ । त्यसैगरी ३० तोला सुन र ५० तोला चाँदी रहेको भनिएको छ । बिभिन्न बैंकका बचत, बिभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको छ । पोखरामा पैत्रिक रुपमा प्राप्तभएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ । बिभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएकोसमेत बिवरणमा उल्लेख छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौंमा घर रहेको उल्लेख छ ।
स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीको भनाई छ । उहाँको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको भनिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सप्तरीमा पैत्रिकरुपमा प्राप्त घर तथा जग्गा रहेको छ । उहाँको ८० तोला सुन र १५० तोला चाँदी, बिभिन्न बैंकमा नगद रहेको बिवरणमा उल्लेख गरिएको छ ।