
काठमाडौं,१ बैशाख । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले फुटपरस्तहरुसँग सतर्क रहन र पार्टीलाई कमजोर बनाउने गतिबिधि नगर्न बिशेष महाधिवेशन पक्षधर नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले एक वक्तव्य जारीगर्दै पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आम सदस्यहरुको क्रियाशील सदस्यता कसैले खारेजगर्न नसक्ने बताउनुभएको छ । उहाँले निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन भन्नुभएको छ ।
मुलुकको विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र बृहत् एकता खोज्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न खड्काले गगन पक्षलाई चेतावनी पनि दिनुभएको छ । पार्टीभित्र र बाहिर देखिएका बिभिन्न उतार–चढावका बाबजुद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णयगरेको कार्यतालिकाभित्र नै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाईसमेत उचित अवसर दिएर १५ औं महाधिवेशन सम्पन्न गरिने खड्काको भनाइ छ ।