बेइजिङ, २ वैशाख । इरानका बन्दरगाह वरपर अमेरिकाले लागूगरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ कदमकारुपमा व्याख्या गरेको छ । जसले क्षेत्रीय तनाव थप चर्काउने र नाजुक युद्धविरामलाई कमजोर पार्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने जहाजहरुलाई लक्षितगर्दै कडा सैन्य कारबाहीको चेतावनी दिएपछि बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो । विशेषगरी, त्यस्ता जहाजहरुलाई डुबाउनेसम्मको चेतावनी दिइएको सन्दर्भले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ । शान्ति वार्ता सप्ताहन्तमा निष्कर्षविहीन बनेपछि ट्रम्प प्रशासनले खाडी क्षेत्रमा इरानी बन्दरगाह र तटीय मार्गहरुमा आवतजावत गर्ने जहाजहरुलाई अवरुद्धगर्ने निर्णय गरेको थियो । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराममा सहमति भएपनि गत सोमबार १४०० जिएमटीदेखि उक्त नाकाबन्दी कार्यान्वयनमा आएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै लक्षित नाकाबन्दी लागूगर्नुले तनाव कम गर्नुको सट्टा झन् बढाउने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्तो कदमले पहिले नै संवेदनशील अवस्थामा रहेको युद्धविरामलाई कमजोर बनाउनेमात्र नभई होर्मुज जलडमरुमध्यहुँदै हुने अन्तर्राष्ट्रिय जलयातायातको सुरक्षामा समेत गम्भीर जोखिम उत्पन्नगर्ने बताउनुभयो । उहाँकाअनुसार यस्तो व्यवहारले अन्तर्राष्ट्रिय स्थिरता र शान्ति प्रयासलाई क्षति पु¥याउने भएकाले यसलाई जिम्मेवार कदम मान्न नसकिने स्पष्ट भएको छ । यसअघि इरानले पनि होर्मुज जलडमरुमध्यलाई रणनीतिक रुपमा नियन्त्रणमा लिँदै आफू अनुकूल ठानेका मुलुकका जहाजहरुलाई मात्र आवतजावतको अनुमति दिएको थियो । यसले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गरेको छ ।
विश्लेषकहरुका अनुसार अमेरिकी नाकाबन्दीको मुख्य उद्देश्य इरानको आर्थिक स्रोतमा दबाब सिर्जनागर्नुका साथै इरानी तेलको प्रमुख खरिदकर्ता चीनलाई तेहरानमाथि दबाब दिन बाध्य पार्नु हो, ताकि जलडमरुमध्य पुनः पूर्ण रुपमा खुला होस् । उल्लेखनीयरुपमा, विश्वको करिब पाँचौँ भाग तेल यही मार्गहुँदै ओसारपसार हुन्छ । यसैबीच, संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले अमेरिकी कदमलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघनको संज्ञा दिएका छन् । अर्कोतर्फ, चिनियाँ राष्ट्रपति सी जिनपिङले खाडी तथा मध्यपूर्वका देशहरुको सार्वभौमसत्ताको सम्मान गर्नुपर्नेमा जोडदिँदै चीनले शान्ति प्रक्रिया अघिबढाउन ‘रचनात्मक भूमिका’ बताउनुभएको छ । बेइजिङमा अबु धाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानसँगको भेटपछि उनले यस्तो धारणा राख्नुभएको हो । रासस, एएफपी