काठमाडौं,२ वैशाख । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरुले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भएपनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताइएको छ । त्यहाँको सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना)को काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताउनुभयो । उहाँले निर्माण व्यवसायीसित भएको मौज्दात इन्धन सकियो अब काम रोकिने अवस्थामा गइसक्यो । ट्रयाक खोल्न प्रयोग भएका ठूला उपकरण पनि रोकिसके भन्नुभयो । दुई सय चार किलोमिटरका उक्त आयोजना ०७४ सालदेखि शुरु भएको हो । आयोजनाअन्तर्गत ३५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

हालसम्म कूल १० किलोमिटर खण्ड कालोपत्रे भएको छ । आयोजनाअन्तर्गत डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको आयोजना प्रमुख देवले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा सात किमी कालोपत्रे भयो । कालोपत्रेगर्न बिटुमिनको अभाव छ । चालु आवमा उक्त आयोजनाका लागि सरकारले २५ करोड रकम विनियोजन गरेको उहाँको भनाइ छ । काम सुस्त भयो । बन्दहुने अवस्था छ । मेसिनरी बन्द हुने अवस्थामा छन् । महँगो पनि पाउन गाह्रो पनि भयो भन्नुभयो । पेट्रोलियम पदार्थ मूल्य वृद्धिपछि निर्माण व्यवसायीहरुले कामगर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिनथालेका छन् । सुदूरपश्चिमकै गौरवको महाकाली सिँचाइ तेस्रो चरण आयोजनासमेत यसको प्रभाव परेको छ । सिँचाइको मूल नहर निर्माणका लागि सात प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको भए पनि अहिले निर्माण व्यवसायीहरुले कार्यालयमा मूल्यवृद्धिले कामगर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका सूचना अधिकारी यादव बरालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले नदी नियन्त्रणका लागि ठेक्का लगाए पनि तारजालीको मूल्य वृद्धिका कारण काम हुनसकेको छैन । सूचना अधिकारी बरालले मूल्यवृद्धिका कारण नदी नियन्त्रणका लागि ठेक्का भएको काम हुनसकेको छैन, यसले बर्सातमा समस्या पार्छकि भन्ने डर छ । पेट्रोलिय पदार्थमा मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरुले पनि कार्यालयमा निवेदन दिएका छन भन्नुभयो ।

त्यसैगरी महाकाली करिडोरको काम पनि मूल्य वृद्धिको असरको चपेटामा छ । तेह्र वटा प्याकेजमा ठेक्काभई कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्मको करिडोरको निर्माण भइरहेको भए पनि पछिल्लो समय निर्माण व्यवसायीले महँगी बढेको जनाउँदै कामगर्न छाडेका छन् । महकाली करिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिंकर) सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले इन्धन, बिटुविनलगायतका सामग्रीको भएको मूल्यवृद्धिका कारण करिडोरको काम प्रभावित बनेको बताउनुभयो । ४२५ किलोमिटर खण्डको उक्त करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५६, बैतडीमा १४४ र दार्चुलामा १२० किलोमिटर सडक पर्छ । दार्चुलामा ७९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नहुँदासम्म काम गर्न नसकिने बताउँदै सरकारलाई मूल्यवृद्धि समायोजनको माग गरेका छन् ।

निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा आपत्काल घोषणाको माग गरिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुले घरदेख बेचेर काम गनुपर्ने अवस्था आएको छ भन्नुभयो । संघमा आबद्ध कञ्चनपुरका ६०० बढी निर्माण व्यवसायीहरुले बजारमा देखिएको मूल्यवृद्धि र सामग्री अभावका कारण कामगर्न नसकिने बताउँदै निर्माण होलिडेको तयारी गरिरहेको उहाँले बताउनुभउको छ ।