काठमाडौं,२ वैशाख । तनहुँका बिद्यालयले केन्द्रीय निर्देशन नमान्ने भएका छन् । केन्द्र सरकारले शैक्षिक सत्र ०८३ सालको पठनपाठन वैशाख २१ गतेबाट शुरुगर्न निर्देशन दिए पनि तनहुँका दुई स्थानीय तहले त्यसअघि नै पठनपाठन शुरुगर्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र ०८३ को भर्ना अभियान वैशाख १५ र पठनपाठन २१ गतेबाट मात्र शुरु गर्नलगायत निर्देशन दिएको थियो । आबुँखैरेनी गाउँपालिकाले आज बुधबार देखि र बन्दीपुर गाउँपालिकाले आगामी नौगतेदेखि पठनपाठन शुरुगर्ने भएका हुन् ।
दुवै पालिकाले सूचना प्रकाशित गरी पठनपाठन शुरु हुने मिति ताकिसकेका छन् । आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले केन्द्र सरकारले वैशाख २१ देखि पठनपाठन शुरुगर्ने निर्णय गरे पनि नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएबमोजिम स्थानीय आवश्यकतालाई मध्यनजर गरी यो निर्णग गरिएको हो । गाउँ कार्यपालिकाको चैत ३० गतेको निर्णयअनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डरबमोजिम अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयले वैशाख २ गतेदेखि बिद्यार्थी भर्ना अभियान तथा पठनपाठनगर्न गराउन सूचना प्रकाशित गरिएको छ भन्नुभएको छ ।
यसैगरी बन्दीपुर गाउँपालिकाले गाउँ शिक्षा समितिको निर्णयअनुसार आगामी आठगतेसम्म भर्ना अभियान सञ्चालनगर्ने, शैक्षिक सत्र ०८३ को कार्ययोजना र वार्षिक कार्यतालिका निर्माण, बिद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना र वैशाख नौ गतेबाट नियमित पठनपाठन शुरुगर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।