काठमाडौं,३ वैशाख । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । चितवनको भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्यगर्न थालिएको हो । कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । उहाँले कार्यालयले तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी छ भन्नुभयो ।

बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ सम्म र वडा नम्बर २२ लाई आफ्नो कार्यक्षेत्र बनाएर पानी वितरणगर्दै आएको छ । बक्यौता असुलीका लागि टोली बनाएर काम गर्न थालिएको प्रमुख बरालले बताउनुभएको छ । टोलीले हालसम्म नौ ग्राहकको धाराको लाइन काटिसकेको छ । लामो समय महसुल नतिर्ने ३०० ग्राहकबाट २० लाख बक्यौता उठाउन बाँकी छ । ती ग्राहकले विगत पाँच वर्षदेखि बक्यौता रकम बुझाएका छैनन् । तीन महिनासम्म बक्यौता नतिरेका १३ हजार २५ ग्राहकबाट तीन करोड ५० लाख बक्यौता उठाउन बाँकी रहेको प्रमुख बरालले बताउनुभयो । बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई एसएमएस गर्ने, पत्रचार गर्नेलगायतका कामगर्न थालिएको छ ।

पत्राचारपछि बक्यौता असुलकोक्रम वढेको छ । बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी बिक्री गर्दैआएको छ । अहिले चोरी नियन्त्रण भएपनि ढल निकासका लागि नाला बनाउने, सडक मर्मतलगायतका कामले चुहावटभने नरोकिएको कार्यालयले जनाएको छ । रासस