काठमाडौं,३ वैशाख । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन भोली वैशाख ४ गते हुँदैछ । मिनी संसदका रुपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संसद सचिवालयले यसअघिनै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार आज बिहीबार अपरान्ह १ देखि ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्भन्ने प्रस्ताव दर्तागर्न सकिने भनिएको छ । सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एकजना सदस्य प्रस्तावक र सोही समितिका कुनै एकजना सदस्यको समर्थक हुनुपर्ने प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिनुभएको छ ।
आज अपरान्ह ४ः३० बजेसम्म निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसारको सूची प्रकाशित हुनेछ । भोली शुक्रबार अपरान्ह १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावले प्रस्तावगर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थनगर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । एकभन्दा बढी समितिमा पदेश सदस्य रहनुहुने मन्त्रीले सभापतिको निर्वाचनमा मतदान हुने अवस्था आएमा सोको जानकारी निर्वाचन हुनुभन्दा २४ घन्टा अगावै सम्बन्धित समितिमा लिखितरुपमा गराउन सचिवालयले अनुरोध गरेको छ । संसदअन्तर्गत प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका चार र दुई संयुक्त समिति रहेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्वस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् । संयुक्त समितिकारुपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन् ।