
काठमाडौं,३ वैशाख । नेपाली कांग्रेस औपचारिकरुपमा विभाजन हुने भएको छ । गत पुसमा भएको विशेष महाधिवेशनसँगै बढ्दैगएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हाल थप चुलिएको जानकारहरुले बताएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। यस्तो अवस्थामा गगन थापा समूहले नेताहरुमाथिको अनुशासन कारवाही प्रक्रियालाई अघिबढाएकाले पार्टी औपचारिक रुपमा बिभाजन हुनलागेको हो ।
विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको नेतृत्वले गठन गरेको अनुशासन समितिको हिजोको बैठकले १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र हाल संस्थापन पक्षका कार्यबाहक सभापति रहनुभएका पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोधेपछि झगडा चर्किएको हो ।
खड्कालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा हिजोका मितिले सातदिने स्पष्टीकरण सोधेसँगै आन्तरिक विवाद फेरि एकपटक सतहमा आएको जानकारहरुको भनाई छ । खड्कालेभने उक्त स्पष्टिकरणको उत्तर नदिने बताइसक्नु भएको छ । विज्ञप्ति जारीगर्न खड्काले पार्टीको लेटरप्याड प्रयोगगर्दै आउनुभएको छ ।