काठमाडौं,३ वैशाख । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्य संयोजन समितिको बैठक आज बस्दै छ । गत चैत १९ मा शुरु भएको बैठक हालसम्म छपटक बसेको छ । आजको बैठकमा संयोजक पुष्पकमल दाहालले बैठकमा उठेका प्रश्नहरुको उत्तर दिने कार्यक्रम छ । सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बैठकमा छुट्टै पेशगरेको निर्वाचनको समीक्षा पत्रमाथि छलफल हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा अलग्गै समीक्षा पेश गर्नेक्रममा नेता खनालले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भएको हारको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने, आगामी दिनमा एउटै वाम पार्टी बनाउन पहल गर्नुपर्ने बताउनुभएको छ ।

खनालले ०७४ मा वाम एकताबाट प्राप्त झण्डै दुईतिहाई बहुमतको सरकारले जनताको आशा–आक्यांक्षा पूरागर्न नसकेको, भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा कुनै आमूल परिवर्तनगर्न नसकेको तथा संसद विघटन जस्ता असंवैधानिक कदमले जनतामा व्यापक असन्तोष पैदागरेको प्रस्तावमा उल्लेख गर्नुभएको थाहा भएको छ । उहाँले झण्डै दुई तिहाईको शक्तिशाली सरकार बनेको बेला जनतामा समाजवादी रुपान्तरणको ठूलो आशा थियो, तर त्यो सरकारले गाँस, बास, कपास, रोजगारी र सुरक्षाका आधारभुत समस्या समाधानगर्न सकेन भन्नुभयो । खनालले ओली नेतृत्वको सरकारपछि बनेका गठबन्धन सरकारहरुले भ्रष्टाचार र कुशासनलाई चरमरुप दिएको, महँगी बढाएको र उद्योगधन्दा बन्द भएको उल्लेखगर्दै जनअसन्तोषलाई विदेशी शक्तिले प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

उहाँले अमेरिकी साम्राज्यवाद र नेपाली सहयोगीहरुमार्फत रास्वपालाई घन्टी चिन्ह दिएर असन्तुष्ट जनतालाई मोड्ने षड्यन्त्र भएको दाबीसमेत गर्नुभएको छ । उहाँले गत निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी एकीकरणपछि संगठनात्मक एकीकरण नहुनु, कमिटी प्रणाली नबन्नु, सामूहिक नेतृत्वको अभाव, उम्मेदवार चयनमा विधिहीनता, घोषणापत्र प्रभावकारी नबन्नु, युवा र जनसंगठनलाई परिचालन नगर्नुजस्ता २३ भन्दा बढी आन्तरिक कारण औंल्याउनुभएको छ ।