काठमाडौं,३ वैशाख । नेकपा मसाल सम्बद्ध अखिल (छैठौं) ले बिद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको बिरोध गरेको छ ।
सो संगठनको प्युठान जिल्ला समितिको हिजो सम्पन्न बैठकले संघर्षका कार्यक्रम समेत घोषणा गरेको हो । जिल्ला समितिकी उपाध्यक्ष सावित्रा नेपालीको अध्यक्षता बसेको बैठकपछि जारी गरिएको प्रेसविज्ञप्तिमा बिद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध घोषणा गरिएको संयुक्त बिद्यार्थी आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको उल्लेख छ । बैठकले संघर्षका कार्यक्रम घोषणागर्न अन्य संगठनसँग समन्वयगर्ने तथा विभिन्न क्याम्पसमा सो आन्दोलन सञ्चालनगर्न जिम्मेवारी बाँडिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आगामी १८ गते शहीद मित्रमणि आचार्यको स्मृतिमा कार्यक्रम सम्पन्नगर्ने पनि उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ– वर्तमान सरकारले बिद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउनेगरी गरेको निर्णयलाई तुरुन्त खारेजगर्न जोडदार माग गर्दछौँ । संयुक्त बिद्यार्थी संगठनद्वारा घोषणा गरिएका कार्यक्रममा हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ ।

विज्ञप्तिमा उपाध्यक्ष सावित्रा नेपाली, सचिव प्रवीण जिसी, सहसचिव सचिन कुँवर, कोषाध्यक्ष सबिर बस्नेत, सदस्यहरु माया घर्तीमगर, मान्यता गिरी, दीपिका सुनार, प्रतीक्षा केसी, करिश्मा परियार, अमृता सुनार, निशा राउत, संगिता विक, सुशीला विक र सल्लाहकार विवेक पुनमगरको हस्ताक्षर रहेको छ ।