इस्लामावाद, ७ वैशाख । आगामी दिनमा अमेरिका र इरानबीच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा हिजो आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः शुरुगर्न अमेरिकी वार्ताकारहरु आज सोमबार पाकिस्तानमा पुग्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उहाँले लेख्नुभएको छ–मेरा प्रतिनिधिहरु पाकिस्तानको इस्लामाबाद जाँदैछन् र उनीहरु भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् । पाकिस्तानी अधिकारीहरुले यसअघि इश्लामावाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
एएफपीका पत्रकारहरुले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरुबीच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरु बनाइएको बताएका छन् । सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरु काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् । रासस, एएफपी