काठमाण्डौ,७ वैशाख । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडानगर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठनगरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बंगलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिनुभएको छ । बंगलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ ।

राष्ट्रिय ध्वजावाहकको उडानभने हालसम्म हुनसकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ । त्यसैगरी निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाडौं–दिल्ली–काठमाडौं साताको १० उडान भइरहेको छ । कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ । रासस