काठमाण्डौ,७ वैशाख । नेपालमा सम्बन्ध बिच्छेदका घटनामा अत्यधिक बृद्धि हुनथालेको छ । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौं जिल्ला अदालतमा दुईहजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकोमा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । ०७६ सालदेखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी फछ्र्यौट हुन बाँकी मुद्दाको संख्या एक हजार ९४७ रहेको छ । सर्वाेच्च अदालतको ०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा सर्वाेच्च अदालतमा ११९ र उच्च अदालतमा एक हजार ५४१ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सोही आवमा ३३ हजार ५० वटा मुद्दा फछ्र्यौट भएकोमा नौ हजार ६८९ मुद्दाको छिनोफानो हुन सकेन । त्यसमध्ये जिल्लाबाट ४१ हजार ७९ वटा मुद्दा फछ्र्यौट भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आव ०८०÷८१ मा ४० हजार ३२० वटा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा दर्ता भएकोमा ३१ हजार ७५२ मुद्दा फछ्र्याैट भएको थियोभने आठ हजार ५६८ मुद्दा छिनोफानो हुन सकेन । यहाँ उल्लेखित तथ्यांकले के देखाउँछ भने पछिल्लो समय सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको संख्या एकदमै बढेको छ । बदलिँदो विश्व परिस्थितिको प्रभाव, आधुनिक नेपाली समाज र परिवारमा देखिने सामान्य मतभेदमा पनि सम्बन्धविच्छेद गरिहाल्ने प्रवृत्तिले संख्या बढेको सरोकारवाला बताउँछन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकृत दीपक श्रेष्ठकाअनुसार बैंकिङ कसुर र चेक अनादरपछि सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।
कतिपय परिवारमा श्रीमान्÷श्रीमतीबीच सामान्य खटपट हुनासाथ सम्बन्धविच्छेदका लागि अदालत आउने गरेको देखिएको छ । वैदेशिक रोजगार, परिवारको असहमतिमा हुने प्रेम–विवाह, अन्तरजातीय विवाह, आधुनिकता, अर्काको नक्कलगर्ने प्रवृत्ति, कुटपिट, मानाचामल र हेरचाह नगरेको, नेपाली समाजमा खस्कँदै गएको संस्कार र संस्कृति तथा दम्पतीबीचको मतभेदले पनि सम्बन्धविच्छेद गर्नेको संख्या बर्सेनि बढ्दैगएको अनुमान गरिएको छ ।