काठमाण्डौ,७ वैशाख । नेपाली कम्युनिष्ट पार्टीले देशमा नयाँ सरकार गठन भएपछि महँगी र कालोबजारी अत्यधिक बढेको ठहर गरेको छ । सो पार्टीले एक विज्ञप्ति जारीगर्दै नयाँ सरकार बढेसँगै महँगी र कालोबजारी बढेकोमा तत्काल नियन्त्रणगर्न आग्रह गरेको छ । त्यसैगरी सो पार्टीले उचित विकल्पबिना सरकारले सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाएकोभन्दै त्यसको पनि विरोध गरेको छ । सो पार्टीले सुकुमबासी व्यवस्थापन, बढ्दो महँगी र लोकतान्त्रिक अधिकारको रक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । ताजा जनादेशबाट गठित सरकारले जनअपेक्षाअनुसार सुशासन र समृद्धिका क्षेत्रमा काम गर्नुपर्नेमा उल्टो आर्थिक भार थपिएको नेकपाको जिकिर छ ।

नेकपाले बिद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको पनि विरोध गरेको छ । विज्ञप्तिमा पञ्चायतकालमा समेत संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानविरोधी यस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिइएको छ । नेकपाले ट्रेड यूनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेकोभन्दै चिन्ता ब्यक्त गरेको छ । विज्ञप्तिमा संगठित हुनपाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड यूनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ । यो विषयलाई हल्कारुपमा नलिन र पुर्नविचारगर्न आग्रह गर्दछौँ भनिएको छ ।

विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ । वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षागरेको उल्लेखगर्दै नेकपाले सकारात्मक कार्यक्रमहरुलाई स्वागत गरेको जनाएको छ ।