
काठमाडौं,८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बर्तमान सरकारका पछिल्ला निर्णयहरुको बिरोध गरेको छ । सो पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बिद्यार्र्थी संगठनमाथिको प्रतिबन्ध, भन्सार शुल्कवृद्धि तथा स्थानीय तहमा भएको दमनकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा अमेरिका–इरान द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको सन्दर्भ उल्लेखगर्दै नेपाल सरकारले त्यसैलाई आधार बनाएर अस्वाभाविक रुपमा मूल्यवृद्धि गरेको आरोप लगाइएको छ । वक्तव्यमा कि यसले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पारेको छ र सरकार संरक्षकभन्दा व्यापारीजस्तो देखिएको टिप्पणी गरिएको छ । सो पार्टीले तत्काल मूल्य समायोजनगर्न तथा वैकल्पिक ऊर्जा स्रोतको दीर्घकालीन योजना ल्याउन माग गरेको छ ।
त्यसैगरी बक्तब्यमा बिद्यार्र्थी संगठनहरुमाथि लगाइएको प्रतिबन्धलाई सो पार्टीले लोकतान्त्रिक अधिकारमाथिको आक्रमणभन्दै आलोचना गरेको छ । शिक्षा क्षेत्रमा क्रियाशील स्वतन्त्र बिद्यार्र्थी संगठनहरुलाई दमनगर्ने प्रयासलाई फासिवादी प्रवृत्तिको संकेतभन्दै यस्तो निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग माग गरिएको छ । भन्सार शुल्क वृद्धिको विषयमा पनि पार्टीले आपत्ति जनाउँदै दैनिक उपभोग्य वस्तुहरुमा थपिएको करले जनताको आर्थिक भार बढाएको जनाएको छ ।
विशेषगरी नेपालभारत खुल्ला सीमाको सन्दर्भमा दक्षिण क्षेत्रका नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित भएको उल्लेख गरिएको छ । यसैबीच, बुटवल र बिराटनगर लगायत केही स्थानीय तहमा सार्वजनिक स्थान खाली गराउने नाममा सुकुम्बासी तथा फुटपाथ व्यवसायीमाथि गरिएको व्यवहारलाई पार्टीले अमानवीय भनेको छ । बिना वैकल्पिक व्यवस्था घरटहरा भत्काउने र सम्पत्ति जफतगर्ने कार्य तुरुन्त रोक्न मागगर्दै राज्यले नागरिकको आवास, कृषि र रोजगारी सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।