काठमाडौं,९ वैशाख । जनकपुरधामलगायत मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छभने वीरगञ्जमा ३९ डिग्री सेल्सियस पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले जानकारी दिनुभयो । उहाँकाअनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरु यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
यस्तै, गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरुमा परेको छ । गर्मी अत्यधिक बढेर तातो हावा चलेसँगै दिनभर कामगर्न असहज भएको र ग्राहकहरुको चहलपहल पनि कम हुँदा उनीहरुको आम्दानीमा पनि असर परेको छ । सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरु दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन् । जल तथा मौसम विज्ञान विभागकाअनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्नेक्रम पनि जारी रहनेछ ।
स्वास्थ्यकर्मीहरुले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवनगर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउनेजस्ता उपायहरु अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरुलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ । रासस