नयाँदिल्ली, १३ वैशाख । भारतमा माओवादी गतिबिधि कायमै रहेको देखिएको छ । द्वन्दमुक्त मुलुक घोषणा भएको झन्डै एक महिनापछि ४७ जना माओवादी विद्रोही फेला परेको भारतीय प्रहरीले जनाएको छ । एएफपीको एक समाचारअनुसार भारतले विगत दुई वर्षदेखि नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध अभियान चलाउँदै आएको छ । नक्सलवादी विद्रोहको नामाकरण हिमालयको फेदमा रहेको नक्सलबारी भनिने एउटा गाउँको नामबाट राखिएको थियो, जहाँ करिब छ दशकअघि माओवादी प्रेरित विद्रोह शुरु भएको थियो। विगतमा यो समूहले मध्यभारतको खनिज–समृद्ध वनमा सीमान्तकृत आदिवासीको अधिकारका लागि संघर्ष गरिरहेको भन्ने गथ्र्यो ।

दक्षिणी राज्य तेलङ्गानाको प्रहरीले भनेको छ–४७ जना माओवादी सदस्यहरुले मूलधारमा सामेल हुने निर्णय गर्दै आत्म समर्पण गरेका छन् । प्रहरीले लगभग सबै भूमिगत प्रमुख नेताहरु अब आन्दोलनबाट बिदा लिएका छन् भनेको छ । भारतका गृहमन्त्री अमित शाहले ३० मार्चमा देशलाई नक्सलमुक्त घोषणा गर्नुभएको थियो । सन् १९६७ मा केही गाउँलेहरुले आफ्ना सामन्ती शासकहरुको बिरुद्ध विद्रोह गरेयता १२ हजारभन्दा बढी विद्रोही, सैनिक र नागरिकहरु मारिएका छन् ।

सन् २००० को दशकको मध्यमा आन्दोलन उत्कर्ष अवस्थामा पुगेको थियो । विद्रोहले देशको विभिन्न भागहरुमा अनुमानित १५ हजार देखि २० हजार तालिमपप्त सशस्त्र लडाकुहरुको जोहो गरेको थियो तर हालैका वर्षहरुमा यो निकै कमजोर भएको थियो । प्रहरीले बाँकी सदस्यलाई पनि हतियार त्याग्न अपिल गरेको छ । अधिकारीहरुले आत्मसमर्पण गरेका विद्रोहीहरुलाई व्यावसायिक तालिम र पुनस्र्थापना कार्यक्रममार्फत नयाँ नागरिक पहिचान प्रदान गर्न लागिएको बताएका छन् ।