काठमाडौं,१६वैशाख । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज एक बैठकगरी आफ्नो पार्टीका सांसदहरुका लागि १२ बुँदे निर्देशन जारी गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको सो दलको बैठकले छलफलमा प्राप्त भएको सुझावसहित निर्देशन जारी गरेको बताइएको छ । रास्वपाका सांसदहरु विभिन्न विवादमा पर्न थालेपछि आज बोलाइएको अनौपचारिक बैठकले निर्देशन जारी गरेको थाहा भएको छ ।
१२ बुँदे निर्देशन–
१.सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ ।
२.सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ । यो अबको महत्वपूर्ण प्राथमिकता हो।
३. मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन । यो दल सेवक र सहजकर्ताहरुको लागि हो ।’
४. हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासोबारे हुँदै गरेको काम कारवाहीबारे अवस्था ट्रयाकगर्न मिल्ने हुनेगरी काम हुँदैछ ।
५. सांसदले सबै तहको समन्वयगर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानून बनाउने हो । तर त्योक्रममा आफै कानून बन्न खोज्ने हैन ।
६. अन्तर्जातीय विवाहको बहानामा समाजमा हुँदैआएको विभेद र दुर्घटना रोक्न आवश्यक छ । यसको लागि पहलगर्न निर्देशन । तर, घटनास्थलमा भावुक भएर सांसदले आफ्नो मर्यादा बिर्सन हुँदैन ।
७. खाडी द्वन्दले बजार मूल्यमा परेको असरबारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीरहुँदै काम गर्दैछौँ।
८. संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपूर्वक लाग्न सबैलाई अनुरोध छ ।
९. जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक, पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ । लगत संकलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ । कतै कुनै थप सजकता आवश्यक छभने ध्यानाकर्षण गराउन अनुरोध छ । ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित वासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्तागर्नु यो सरकारको कर्तव्य हो । देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र काम गरिने छ । तर योक्रममा सरकारले कसैलाई घरबारविहीन बनाउने छैन । सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ । सरकारले कोही सुकुम्बासीहरुलाई घरबारविहीन हुनदिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ । तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीतिगर्नु गलत हो ।
१०.अध्यादेशकाबारेमा विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरागर्न सकिँदैन । पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो । अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो । यो कदम, कानूनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानून, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छभन्ने कुरा को सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ । हामी त्यो सच्याउन चाहन्थ्यौ, इमानदार भएर बढ्यौ ।
११.कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरु छन्, महत्त्वपूर्ण निर्णयहरु लिन व्यवहारिक कठीनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्। धेरै कुरामा समय कुरेरमात्र बसिरहन सकिँदैन । जनअपेक्षाअनुसार कामगर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ ।
१२. नियमित छलफल हुनेछ, जनप्रतिनिधिकारुपमा आफ्नो कर्तव्य निर्वाहगर्दा कुनै कठीनाइ भए म आवश्यक सहजीकरणको लागि सधैँ उपलब्ध छु । सधैँ बैठक कुरेर पनि नबस्न र लिखितरुपमा आफ्नो कुरा राख्न अनुरोध छ । पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छभने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेरमात्र अवसरको अपेक्षा राख्न अनुरोध छ ।